उदयपुर
नेपाल मगर संघ त्रियुगा नगर कमिटीले आयोजना गरेको माघ्यासकराटी तथा हुर्रा महोत्सव (माघे संक्रान्तिलाई मगर जातिले बोल्ने ठेट भाषा माध्यासकराटी)मा वक्ताको भाषणभन्दा सांगितिक माहोल दर्शकको निकै रुची बन्यो ।
जव नृत्य र गायन आउथ्यो छरिएर रहेका दर्शक स्टेज नजिक आउँथे र कलाकारसँगै झुम्ने, नाँच्ने, गित गाउँदै रमाइलो गरे । गितसंगित पछि वक्ताको भाषण आउनसाथ भिड तितरवितर देखिन्थ्यो । स्थानीय कलाकारले तताईरहेको माहोललाई राष्ट्रिय कलाकार शिव थापामगरले अझ तताए ।
कार्यक्रम संचालक इश्वर वलम्पाकी मगरले शिवको नाम मात्र के लिएका थिए दर्शकको तालि र हुटिङ्गले थरुहट रंगशाला नै गुन्जियो । दर्शकको ताली र ‘वान्समोरÕको अफरले गायक थापालाई अझ हौसायो । थापाले आफ्नो कला, संस्कृति, रितिरिवाज, भेषभुषाको जगेर्णा गर्दै मगर भाषाका गित सुनाएका थिए ।
गायक शिवले प्रस्तुत गरेको हुर्रा नाँचको गितमा स्टेजमा रहेका अतिथिले पनि आफ्नो मन थाम्न सकेनन् जानी नजानी दर्शक दिर्घामा गएर सँगसँगै नाँचे । निकै लामो समय पछिको सांगितिक महोत्सव र अलग्यै पहिचान बोकेको मगर जातिको हुर्रा नाँचमा दर्शकको नजर दिनभर नै पर्यो ।
कार्यक्रममा मगर समुदायको मौलीक नाचहरु मारुनी, हुर्रा, झ्याउरे, कौडा प्रस्तुत गरीनुको साथै मगर समुदायको मौलीक खानाको परिकार, भेषभुषासमेत राखिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सांसद नारायण बुर्जामगरले इतिहास बोकेको मगर समुदायको चाडपर्व, रितिरिवाज, कलासंस्कृति जगेर्णा गर्न आफु प्रतिवद्ध रहेको बताए ।
उनले नयाँ संबिधानले सबैका हकअधिकार, धर्म, संस्कृतिको संरक्षण गरेकाले जातका आधारमा कोही पनि अपहेलित हुने अबश्था नरहेको बताए । त्यसैगरी प्रदेश सांसद गिता रेग्मीले नेपाल सबै जातजातिको साझा फुलवारी भएकाले सबैको संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको बताईन् । माघ्यासकाराटी (माघे संक्रान्ति) मगर विशेषको मात्र नभई राष्ट्रिय चाड भएकाले सरकारले सुचिकृत गर्नु पर्ने धारणा व्यक्त गरिन ।
त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले गुमेको पहिचान, हराएको इतिहास, पछाडि पारिएको संस्कृति संरक्षण गर्न स्थानीय सरकार प्रतिवद्ध रहेकोे बताईन् । उनले नगरभित्रका सबै भाषा, भेषभुसा र संस्कृति संरक्षणका लागि साझाधारणा बनाई साझा फुलवारीकोरुपमा विकास गरिने बताए । उनले मगर समुदायको संग्रालय, जातिय उत्थान, संस्कृति संरक्षणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताईन् ।
मगर संघका केन्द्रिय उपाध्यक्ष सिता मगरले देशकै तेश्रो जनसंख्या भएको मगर जातिको एतिहासिक पर्वमासमेत विदा कटौती गरेर उपेक्षा गरेको बताईन् । उनले मगर संघको अवको आन्दोलन पहिचान, कला, संस्कृति जगेर्णा रहेकाले साथसहयोग गरिदिन सबैलाई अपिल गरिन । मगर संघका प्रदेश १ का अध्यक्ष राजु मगरले संस्कार, संस्कृति लोप हुने अवश्थामा पुगेकाले राज्यले संरक्षण गर्नु पर्ने बताए ।
माघ १ गतेबाट एक हप्तासम्म सञ्चालन हुने माध्यासकराटी बुधबार सदरमुकाम गाईघाटमा औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । माघे संक्रान्ति पर्व सबै जातजातीले आआफ्ना रितिरिवाज, चालचलन, धर्मसंस्कृतिअनुसार मनाउने गर्दछन् । खासगरी माघ १ गते हिन्दु धर्मालम्बिहरुले पवित्र स्थलमा मकर नुहाएर विभिन्न परिकार खाएर मनाउने गर्दछन् । आदिबासी जनजातीहरु किराँत, मगर, थारु लगायतले नयाँ सम्बतकोरुपमा मनाउने गर्दछन् ।
Copyright © 2018 / 2024 - Purbeli Darpan All rights reserved