उदयपुर
उदयपुरको रौतामाई गाउँपालिका ७ स्थित नमुना माध्यमिक विद्यालय मुर्कुचीमा अध्ययनरत बिपन्न विद्यार्थीलाई शैक्षिक पोसाक बितरण गरिएको छ ।
यसअघि सोही विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको समूह ‘पूर्व विद्यार्थी समाज’को समन्वयमा ‘प्रकृति प्रेमी समाज उदयपुर’ले शुक्रबार निम्न वर्गका तीन दर्जन विद्यार्थीलाई पोसाक बितरण गरेको हो ।
१२ छात्रा र २४ छात्रलाई उनीहरुको आवश्यकता अनुसार विद्यालयको पोसाक सर्ट, पाईन्ट, ट्रयाकसुट र जुत्ता बितरण गरिएको आयोजक प्रकृति प्रेमी समाजका अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए ।
बालबालिकालाई पोसाक वितरण गर्दै प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शसीकुमार यादवले शैक्षिक अवस्था सुधार गर्न आमनागरिकको समान दायित्व रहने बताए । उनले भने, ‘बिद्यालयबाट मात्र शैक्षिक सुधार सम्भव नभएकाले, नागरिक तवरबाट हुने यस्ता कार्यक्रमले बालबालिकाको शैक्षिक गुणस्तर र अध्ययनमा रुची बढाउने छ ।
यादवले बिद्यालय भर्ना पछि पारिवारिक आर्थिक विपन्नताका कारण उनीहरुलाई टिकाई राख्न नै अहिलेको मुख्यचुनौती रहेकाले यस्ता कार्यक्रमले सहजता निम्त्याउने बताए । उनले समाजमा शिक्षाको विकासकालागि प्रेरणा तथा प्रोत्साहनले महत्वपूर्ण भूमिका निभाउने भएकोले विद्यालयमा पोशाक तथा शैक्षिक सामग्री दिएर गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई ठूलो सहयोग पुग्ने बताए ।
बिद्यालयका प्राचार्य खड्गबहादुर थापामगरले बिद्यालयको शैक्षिक बिकासमा पूर्वविद्यार्थी समाजको भुमिका रहेको बताए । उनले गरिवका छोराछोरी पढ्ने बिद्यालय भएकाले शैक्षिक जागरणका कार्यक्रमलाई निरन्तर सहयोग गरिदिन आग्रह गरे ।
कार्यक्रममा पूर्वविद्यार्थी समाजका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले पढ्ने इच्छा हुँदा हुँदै पनि आर्थिकरुपमा पिछडिएकाहरुको बाध्यतालाई मलमपट्टी लगाउन आगामी दिनमा समेत तयार रहेको बताए ।
उनले पूर्वविद्यार्थीको नाताले बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नु दायित्व भएको बताए । अध्यक्ष खड्काले भने, ‘बिद्यालय भर्ना पछि विपन्नताका कारण नियमित बिद्यालय नआउने प्रवृति झाँगिदै गएको छ, यसर्थ त्यस्तो प्रवृतिलाई निरुत्साही गर्न बिद्यार्थीलाई सहयोग गरेका हौ ।
सहयोगी संस्थालाई धन्यवाद दिँदै अध्यक्ष खड्काले भने, ‘सामुदायिक बिद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न सके गरिव, असाह्यका मात्र नभई सम्पन्न वर्गसमेत आकर्षित हुन सक्छन् । उनले आगामी दिनमा पनि बिद्यालयसँगको समन्वयमा सहयोग तथा सहकार्यमुलक कार्यक्रम सञ्चालन गरिने बताए ।
कार्यक्रममा प्रकृतिप्रेमी समाजका अध्यक्ष श्रेष्ठले आफ्नो संस्था कुनै गैरसरकारी संस्था नभई विशुद्ध प्रकृतिसँग रमाउने युवाहरुको फोरम भएको बताए । उनले आफुले विभिन्न पेसाव्यवसाय गर्दा वचेको रकमलाई सामाजिक अभियानसँग जोडिने गरी बर्षेनी यस्ता कार्यक्रम गर्दै आएको बताए ।
समाजका उपाध्यक्ष दिपक खनालले आम्दानीको केहि हिस्सालाई बर्षेनि ३÷४ ठाउँमा आर्थिक अवश्था कमजोर भएका, विपन्न, असायहरुको सेवामा सहयोग गर्दै आएको बताए । बिद्यालयका बालबालिकालाई शैक्षिक सामग्रीदेखि असायह, दिनदुःखीहरुलाई न्यानो कपडा, खाद्यान्न लगायतका सामग्रीहरु सहयोग गर्दै आएको सदस्य मनोज कार्कीले बताए ।
पूर्व विद्यार्थी समाजका उपाध्यक्ष प्रलाद कार्कीको संचालना भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका अधिकृतहरु भवानी कट्टेल, अर्जुन कार्की, रौतामाई गाउँपालिकाका कार्यपालिका सदस्य दुर्गा एसके, प्रकृति प्रेमी समाजका श्याम ढकाल, दिपक श्रेष्ठ, दिपेश श्रेष्ठ, पत्रकार महासंघका सहसचिब देवराज राई, पत्रकार माधव पोखरेल, पुर्वविद्यार्थी समाजका सचिब सन्तोष मश्राङ्गी मगर, प्रभात लामा, शिक्षक, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बिद्यार्थीलाई साहित्य क्षेत्रमा रुची बढाउन पत्रकार तथा साहित्यकार माधव पोखरेलद्धारा लिखित साहित्यक किताव र उदयपुर साहित्य कला प्रतिष्ठानद्धारा प्रकाशित कविता, कथा सग्रहका पुस्तकहरु लाईव्रेरीमा राख्नेगरी हस्तान्तरण गरिएको थियो ।
Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved