आज महाकवि देवकोटाको १०८औँ जन्मजयन्ती मनाइँदै


काठमाडौँ २ कार्तिक  । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन डिल्लीबजारमा भएको थियो।

दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ। उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ।

भारतका महापण्डित राहुल साँकृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निरालाको संयुक्तरूपसँग तुलना गरेका थिए भने नाट्य सम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिनुभएको थियो।

विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनु र वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुन्।

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो। देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र संख्यात्मक योगदान आज पनि अद्वितीय छ।

चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताकाबीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो। रासस

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]