कटारीमा मेडिकल कलेज स्थापना गर्ने नगर सभाको निर्णय

उदयपुर , माघ ९
ग्रामिण क्षेत्रमा पनि सरकारी मेडिकल कलेज स्थापना गर्नु माग उठेको बेला उदयपुरको कटारी नगरपालिकाले कटारी क्षेत्रमा मेडिकल कलेज स्थापना गर्न माग गर्ने निर्णय गरेको छ । कटारी नगरपालिकाको सम्पन्न तेश्रो नगर सभाले कटारी क्षेत्रमा मेडिकल कलेज स्थापना गर्नेको लागि चिकित्सा अध्ययन संस्थान र स्वास्थ्य मन्त्रालयसँग माग गर्ने निर्णय गरेको हो ।


सरकारले कटारीमा मेडिकल कलेज खोल्ने निर्णय गरे आवश्यक जग्गा कटारी नगरपालिकाले व्यवस्थापन गर्ने निर्णय भएको कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । ‘नगर सभाले उदयपुरको उच्च अदालतको अस्थायी ईजलास ओखलढुङ्गालाई परिवर्तन गरेर बिराटनगर सार्न समेत माग गरेको छ । नगर प्रमुख श्रेष्ठले भने ‘उदयपुरबाट ओखलढुङ्गा जान भन्दा बिराटनगर जान सजिलो र छिटो हुने भएकाले बिराटनगर कायम हुनु पर्छ भनेर नगर सभाले निर्णय गरेको छ ।


कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जिल्लामै बढि अदुवा तथा बेसारको खेती हुने कटारी नगरपालिकाको क्षेत्रहरुलाई कटौती गरि अदुवा र बेसार जोन कार्यान्वयन गरेकोले उक्त निर्णय सच्चाउन माग गरेको छ । नगर सभामा अदुवा बेसार जोनको कार्यक्षेत्रमा कटारी नगरपालिकालाई समावेस नगरिएकोले कटारी नगरपालिकालाई समेत समावेस गर्न माग गर्ने निर्णय गरिएको नगर उपप्रमुख भिमकुमारी राउतले बताईन । ‘उदयपुरको सबै भन्दा बढि अदुवा खेती हुने क्षेत्र हर्देनीलाई नै कटाएर मन्त्रालयले अदुवा बेसार जोन घोषणा गरेकोले उक्त निर्णय सच्चाउन माग गरिएको छ । उपप्रमुख राउतले भनिन् ‘तत्कालिन कृषी मन्त्री हरिबोल गजुरेलले अदुवा उत्पादन क्षेत्रको भ्रमण गरि अदुवाको पकेट क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।’ तर सोही बर्ष मन्त्रालयले उदयपुरमा सुन्तलाको जोन घोषणा गर्याे, उपप्रमुख राउतले फेरी पनि मन्त्रालयलाई अदुवाको जोन बनाउन भनेर पहल गरियो अदुवा उत्पादन नहुने क्षेत्रमा जोन घोषणा भयो ।


नगर सभाले कटारी नगरपालिकाको प्रशासनिक क्षेत्रको सफलता पूर्वक नेतृत्व गर्नु भएका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, कार्यालय सहयोगी परशुराम दनुवार आयूर्वेद बैद्य श्री विल्टु राय र वडा नम्बर १२ का प्राविधिक नेत्रकुमार पौडेलाई नगद सहित सम्मान गरेको छ ।
नगरको विकासमा उल्लेखनिय योगदान पु¥याएका कर्मचारीको मनोबल बढाउन नगर सभाले सम्मान गर्ने निर्णय गरेको नगर कार्यपालिकाका प्रवक्ता कृष्णराज दनुवारले जानकारी दिए । प्रवक्ता दनुवारका अनुसार कटारीमा आयूर्वेद औषधालय कटारीका लागि ३० लाख भनद बढिको जग्गा दान गर्ने देवरामसिंह राईलाई सम्मान गरिएको छ ।


नगर सभाले गत असारमा दोश्रो नगर सभाबाट पास भएको निती तथा कार्यक्रम र बजेट संशोधन गरेको छ । दोश्रो नगर सभाले ६२ करोड ९ लाख ८२ हजार पास गरेकोमा सशोधन गरि ७१ करोड ३८ लाख पु¥याएको छ । असारमा पास अनुमानित बजेटमा ९ करोड २८ लाख संशोधन भएको छ । प्रत्येक वडालाई १३ लाखको दरले रकम विनोयोजन गरि कार्यक्रम स्वीकृत गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले जानकारी दिए । गौतमका अनुसार राजस्व बाँडफाड र प्रदेश सरकारबाट अनुदान प्राप्त भएकाले बजेट थपघट गरिएको हो । कटारी नगरपालिकामा १४ वटा वडा रहेका छन ।