मगर जाति र माघेसंक्रान्ति


खड्गबहादुर मगर

नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधता भएको देश हो । नेपालमा १२५ भन्दा बढी आफ्नै छुट्टै पहिचान भएका जातजातिहरूको बसोबास रहेको छ । त्यसैले हामी अनेक थरीका भाषा बोल्छौं । अनेक थरीका धर्म मनाउँछौं । अनेक थरीका चाडवर्प र जात्रा मनाउँछौं । तर, जो–जो जे–जे भए पनि हामी सबै नेपाली नै हौं । फूलबारीका प्रत्येक फूलको आफ्नै रङ, आफ्नै सुगन्ध र सौन्र्दय हुन्छ । यस मानेमा प्रत्येक जातजातिका आफ्नै रहनसहन, भेषभूषा, रीतिरिवाज, चालचन, धर्म, संस्कृति आदि हुन्छन् । त्यही चिनारीबाट आपसी समझदारी, सद्भाव र आदर उत्पन्न हुन सक्छ । त्यसैले कुनै जातजातिको जनसंख्याभन्दा पनि त्यस जातिको पहिचान, चिनारी, विशेषता र चाडपर्व के हो भन्ने नै मुख्य हो । 

यसै सन्दर्भमा मगर जातिको आफ्नै छुट्टै पहिचान, रीतिरिवाज, धर्म, संस्कृति, विशेषता र चाडपर्व छन् । मगर समुदाय सांस्कृतिक रूपमा निकै सम्पन्न छ । अझै पनि मगर समुदायमा कौडा, घाटु, सोरठी, झ्याउरे, रोदी र हुर्रानाचको छुट्टै रौनक छ । तीमध्ये पनि हुर्रा नाच एकदमै लोकप्रिय रहेको छ । हुर्रानाचलाई देउस्याहा अर्थात् देवी नाच भन्ने पनि गरिन्छ । मगर भाषामा ‘देउ’ भनेको देव र ‘स्याहा’ भनेको नाच हुन्छ । मगर भाषामा ‘हुर्र’ भनेको मज्जा र ‘राहा’ भनेको आयो हुन्छ । हुर्रा एक मगर प्रतिष्ठानले जन्माएको हो । हुर्रा नाच विशेषगरी तिहारको अवसर पारेर नाचिने गरिन्छ । हुर्रा नाचको उद्गमस्थल धनकुटा जिल्लाको मुढेबासबासलाई मानिन्छ ।


हुर्रा नाचमा— छोटी कदमे, दुई कदमे र तीन कदमे गरी तीन कदममा नाचिन्छ । मादलेहरू, भट्याउनेहरू दुई कदमे नाच्ने गर्छन् भने त्यहीं तालमा बुढाबुढीको लस्कर तीन कदमे नाच्छन् । त्यस्तै युवायुवती, बालबच्चाहरू हात समाएर गोलो बनाई छोटी कदमे नाच्ने गरिन्छ । यस नाचमा एकअर्काको हात समातेर गोलोकार भएर मादलको तालमा नाच्छन् ।
हुर्रा नाच शुरू गर्नुभन्दा अघि वर्षभरि सुख–शान्ति होस् भन्ने कामनाका साथ पूजा गरिन्छ । यसलाई ‘नाच उठाउने पूजा’ पनि भनिन्छ । पूजारीले नाच्न तयार भएका सबैलाई टीका लगाइदिएर आशीर्वाद दिन्छन् । नाच्नेहरूसँग कसैले मादल, कसैले मुरली, बांसुरी र मुजुरा साथमा लिएका हुन्छन् ।


नेपालको मध्यपश्चिमाञ्चल तथा पश्चिमाञ्चलस्थित रुकुम, जाजरकोट, प्यूठान, रोल्पा, पाल्पा, नवलपरासी, स्याङ्जा, तनहुँमा आदिम कालदेखि बस्दै आएको देखिन्छ । २०६८ सालको जनगणनाअनुसार जनसंख्याको हिसाबले नेपालको तेस्रो ठूलो र आदिवासीको हकमा प्रथम श्रेणीमा पर्ने जाति हो मगर ।


मगरलाई ठकुरी र छेत्री आफ्नै दाजुभाइ हुन् भन्ने विश्वास छ । आज पनि धेरै मगरहरू आफ्नै मातृभाषा मगरमै कुराकानी गर्छन् । भेरी नदीको माथिल्लो भागतिर बस्ने मगरले भोटेभाषालाई नै आफ्नो मातृभाषा माने पनि मगरभाषा बोल्न सबैले जानेका हुन्छन् । मगरको एउटै थरभित्र धेरै खलक हुन्छन् । मगरका थर यस्ता छन्— सारु, समाल, लायो, पुलामी, माप्छान, रैका, फेवाली, खपाङ्गी, दर्लामी, आले, बुढाथोकी, राना, आग्री, बुढाथोकी, आले, बेङलासी, एस्माली, घर्ती, थापा, पुन, राना, भस्की, गुरुचन, भुरुङचन, रेवाली, हिस्की, रगाल, सिदारी, थुमसिङ आदि । आलेमा— फेङदी आले, दूध आले, छार्छाकी आले र सूर्यवंशी आले । त्यस्तै थापामा— पुलामी, क्याप्छाकी, तङलामी, असलामी, दर्लामी, रासकोटी, बीरकट्टा, सिँजापति, गहसरू, ध्यावाङ, सिंजाली, फेवाली, लुङगेली, खापाङी, घर्ती, गाहा, रगाता, दर्लामी, बलामी, तङलामी र असलामी । त्यसैगरी पुनमा पेगेल, तिर्के, साबे र घर्तीमा रामजोली, रामजोली, रुपखानी, बेजाली, तिके, फुङजा र रोकाहा आदि ।


मगरको बिहे आफ्नै जातिभित्र हुन्छ । मामाचेली फूपुचेलाको बिहे गर्ने चलन छ । यस जातिमा मामाचेलीको पहिलो हकदार भनेको फूपुचेला भान्जा नै हो । त्यही हुनाले मामाचेली र फूपुचेलाको सम्बन्ध गाढा हुन्छ । पहिला–पहिला मामाचेलीले फूचुचेलासँग स्वीकृत लिएर मात्र विवाह गर्ने गर्थे । तर, हिजोआज यस्तो चलन हट्दै गएको छ । केटा र केटी एकअर्कामा मन परेपछि आफूखुशी बिहे गर्छन् । केटीलाई भगाएर बिहे गर्नेलाई ‘केटी छोप्ने’ भनिन्छ । भागी विवाहा गर्दा केटा पक्षले केटीको बाबुआमाकहाँ चार तिर्न जाने चलन छ । चार तिर्न जाँदा ठेकीमा दही, सिक्का पैसा, रक्सी, रोटी, कुखुराको भाले आदि लाने चलन छ । केटी माग्न जाँदा पनि एक ठेकी दही, सिक्का पैसा, रक्सी र रोटी कोसेलीस्वरूप लिएर जानुपर्छ भने कतैकतै भालेसमेत लाने चलन छ ।


छेत्री र मगरको बिहे विधि–विधान उस्तै भए पनि चालचलन र रीतिरिवाज अलिक फरक छ । चेली पठाइसकेपछि आफन्तलाई भोज खुवाउने चलन छ । त्यसपछि मामाली, बुढा मामाली, दूध मामाली बिदाइका लागि सुगुरको साँप्रो, रक्सी, रोटी र चामल दिने चलन छ । बैनावाललाई पनि रक्सी, चामल, रोटी र मासु दिने चलन छ । मामाली र बैनावालले कोसेलीको आफ्नो गच्छेअनुसार दक्षिणास्वरूप पैसा दिने गर्छन् । केटाकेटी दुबैतिर यस्तै गर्ने चलन छ । हिजोआज पनि यो चलन यथावतै छ । अझ बिहे भएको साल मावलीकहाँ टीका थाप्नु जाँदा कुखुराको भाले, रक्सी, रोटी आदि लिएर जाने चलन छ । यो मगर जातिको रीत हो । मगर जातिको महत्वपूर्ण कोसेली रक्सी हो ।


छेत्री बाहुनले व्रतबन्ध गरेजस्तै मगर जातिले पनि तीन, पाँच, सात र नौ वर्ष पुगेपछि साइत जुराएर कपाल खौरिनुलाई ‘छेवर’ भनिन्छ । पहिलोपटक बालकलाई सालको पात वा वरको पातमा १३ किसिमका अन्न खुवाउने संस्कारलाई अन्नप्रसान वा पास्नी भनिन्छ । छेवर÷पास्नीमा पनि मामाली, वैनावाल, नातागोता र आफन्तलाई बोलाएर भोज खुवाउने चलन छ । भोज खुवाइसकेपछि बिहेमा जस्तै मामाली र बैनावालाई बिदाइ गर्ने चलन छ ।


मगर जातिको आफ्नै छुट्टै मातृभाषा छ । मगर समुदायमा बसोबास गर्नेहरूले आफ्नै मातृभाषा बोल्ने गर्छन् । आफ्नै मातृभाषा बोलेपनि नेपाली भाषा बोल्न सबैले जानेका हुन्छन् । मगर जातिको भाषा मगर ढुट, मगर खाम र मगर काइके हुन् । बाह्र मगराति भाषा पाल्पा, स्याङ्जा र तनहुँमा बोलिन्छ भने अठार मगरराति भाषा रोल्पा, प्यूठान, बागलुङ र रुकुममा बोल्ने गरिन्छ । यी भाषालाई मगरले ढुट र पाङ भन्ने गर्छन् । मगर भाषा विद्यालय, कलेज, संघ–संस्था, सरकारी कार्यालय आदिमा काम नलाग्न सक्छ । तर मगर जातिको पहिचान मातृभाषा नै हो ।


मगर जातिका आफ्नै भेषभुषा र आभूषण रहेका छन् । यही भेषभूषा र आभूषणले अन्य जातिभन्दा मगर अलग देखिन्छन् । मगर जातिको भेषभूषाले अन्य जातिहरूलाई समेत प्रभावित पारेको पाइन्छ । भोटो, कछाड, लंगौटी, भाङग्रा, अस्कोट र टोपी पुरुषहरूको मुख्य पहिरन हुन् । टोपी लगाउनैपर्छ भन्ने मगरहरूको परम्परा छ । कम्मरमा खुकुरी भिर्जुलाई जातीय गुणका रूपमा लिने गरिन्छ । हातमा चाँदीको बाला र कानमा कुण्डल लगाउँछन् । गुन्युँ, चोलो, मजेत्रो, टिकिस घलेक, पटुका, पोते तथा कण्ठमाला–मुगामाला, शिरफूल, माडवारी, बुलाकी, ढुंग्री, मुन्द्री, फुली, कुण्डल, बाला, रैया, थोका, हम्बेल, कल्ली, तिलहरी, जन्तर, औंठी, चुरा आदि महिलाहरूको पहिरन चर्चित छ । हिजोआज भांग्राको सट्टा घलेक लगाउने चलन छ ।


मगर जातिका बाजाहरू— मादल, मरुली, डम्फू, दमाहा, खैंजडी, अलङका, कुटकुटे, मचेटा, दुन्दी, च्याखुरेबाजा, केतुकी बाजा, छेलर, पैजन, दरबङा, रिङ, झ्याली, आदि हुन् ।
आधुनिक नेपालको निर्माण गर्नमा मगर जातिको ठूलो हात रहेको इतिहासमा उल्लेख छ । गोर्खाली सेनाका रूपमा बहादुरी देखाएर नेपाललाई विदेशी शक्तिबाट बचाएको इतिहासमा तथ्याङ्क छ । उहिलेको कर्णाली र गण्डकी प्रदेशबीच भाग अनेकन राज्यमा विभाजित रहँदासम्म मगरको पनि आफ्नै राज्य थियो । त्यस क्षेत्रलाई ‘बाह्र मगरात’ राज्य भन्ने चलन थियो ।


मगर जातिले चैतेदशंै, चण्डीपूजा, साउनेसंक्रान्ति, कृष्ण अष्टमी, दशैं–तिहार, माघेसंक्रान्ति आदि प्रमुख चाड मनाउने गर्छन् । विशेषगरी मगर जातिले माघेसंक्रान्तिलाई राष्ट्रिय पर्वका रूपका रूपमा मनाउने गर्छ । त्यसैले यो चाड प्रत्येक वर्ष तीन दिनसम्म मनाउने चलन छ । मगर समुदायमा माघेसंक्रान्तिको दिन चेलीबेटीलाई पुज्ने गरिन्छ । जसलाई ‘निस्रो’ भनिन्छ । चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा पनि मनाउने गरेको पाइन्छ ।


माघेसंक्रान्तिको दिन बिहान नजिकको पधेरो, खोला, धारा, नदीनाला आदि स्थानमा गएर दाजुभाइले नुहाइधुवाइ गरिसकेपछि खाली पेटमा कुल र पूर्खालाई पूजा गरिन्छ । त्यसपद्धि दिदीबहिनीलाई निस्रोले पुज्ने गर्छन् । पूजा गर्दा चामल साथै तरुल, पुरी, मिठाई आदि खानेकुरा र दक्षिणा राखेर दिने चलनलाई ‘निस्रो’ भनिन्छ । त्यसपछि वंशजका साथै विवाह गरेर छिमेकी गाउँ–ठाउँमा पुगेका दिदीबहिनीलाई निस्रो बाँड्दै घर–घरमा जान्छन्

पितृको लागि एक माना चामल मासको दाल मिसाएर नौवटा डल्ला बनाएर पूर्खाको प्रतिक बनाएर सो मासको डल्लालाई पितृ सम्झी अदुवा, बेसार, मर्चा राखेर आफ्ना दिवंंगत पूर्खालाई सम्झेर पानी चढाउने र घ्यूको धुप हालेर पूजा गरिन्छ । साथै सुगुरको मासु, तरुल, सेलरोटी र विभिन्न परिकार पकाएर टपरीमा राखी अगेना माथिको भारमा राखी मरेका पूर्खाको नाउँमा चढाउने गरिन्छ । पितृलाई रक्सी अनिवार्य रुपमा चढाउनु पर्छ ।


कूलपूजा गरिसकेपछि चेलीबेटीहरूलाई पुज्ने गरिन्छ । यसलाई ‘निस्रो’ अर्थात् ‘मिश्रा’ भनिन्छ । पूजा गर्दा चामल साथै वनतरूल, फलफूल, पुरी, मिठाई, सेलरोटी तथा विभिन्न परिकारको खानेकुरा र टिका लगाइ दिएर दान–दक्षिणा दिने चलन छ । विभिन्न खाने कुरा र दक्षिणा दिने चलनलाई अत्यन्तै महत्वका रूपमा लिने गरिन्छ । विवाह भइसकेका चेलीहरू माइत आउन नसकेको खण्डमा चेलीहरूकै घरघरमा गएर निस्रो बाड्ने गरिन्छ । मिश्रा बाड्न सकेसम्म दाजुभाइ माइती नै जाने गर्छन् ।


दाजुभाइले निस्रोमा दिएका चामल र विभिन्न खाने कुरा लिएर दिदीबहिनीहरू घरभन्दा टाढा रमणीय ठाउँमा गएर वनभोज खाने गर्छन् । निस्रोमा दिएका खाने कुरा त्यही दिन सिध्याउने चलन छ । गाउँघरमा भएका चौतारमा भेला भएर ‘होम्पई’ नाच नाच्दै रमाइलो गर्छन् । यस नाचमा डोकोलाई सारीचोलो लगाइ दिएर पोते, तिलहरी र चुरा तथा विभिन्न गहनाले सजाइन्छ । यो नाच चेलीबेटीहरू डोकोभित्र पसेर ठट्टा र रमाइलो गर्दै नाच्छन् । केटाकेटीदेखि बुढापाका अर्थात् जुनसुकै उमेरका पनि नृत्य र रमाइलो गर्न चौतारीमा भेला हुन्छन् । मेलामा कोही पिङ खेल्छन, कसैले धनुकाँड खेल्छन्, कसैले नाँच हेर्छन् भने कोही दोहोरी गाएर रमाइलो गर्छन् । युवतीहरू होम्पई नाचिसकेपछि युवा र बूढापाकाको पैसारु–पैचारु नाच नाच्छन् । यो गोलो घेरामा मादल, झिली, पैजन, छिनछिने जस्ता विविध बाजा–गाजाको धुनमा नाच्ने गरिन्छ ।


गाउँभरिका पुरुष भेला भएर तारो हान्ने खेल पनि खेल्छन् । गोलो चिन्हमा जसले निसाना लगाउन सक्छ, त्यसलाई तितेपाती लगाई काँधमा बोकेर गाउँ घुमाउने गर्छन् भने खानेकुरा पनि दिन चलन छ । साँझमा ससाना केटाकेटी जम्मा भएर घर–घरमा गई बासी आन्द्रा पाई कि नपाई भन्दै सोध्ने गर्छन् । माघेसंक्रान्तिमा चेलिबेटी पुज्नाले मगर समुदायको सांस्कृति र सामाजिक पहिचान बोकेको छ । देश–विदेशमा जहाँ भए पनि माघेसंक्रान्ति मनाउँछन् । चाहे धनी होस्, चाहे गरीब, मगर समुदायले यो पर्व गाउँघर, शहरबजारदेखि विदेशमा समेत मनाउने चलन छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]