उदयपुर गोल्डकपको छैटौं संस्करण जेठ ३२ गतेदेखि

उदयपुर , जेठ २८
उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण यही जेठ ३२ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने छ । मंगलबार गोल्डकप मूल आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरी सञ्चालन तयारीबारे जानकारी गराएको हो ।
सदरमुकाम गाईघाटको थरुहट रंगशालामा आयोजना हुने प्रतियोगितामा ए डिभिजनका राष्ट्रिय टिमहरुले सहभागिता जनाउने जनाइएको छ । जसमा शसस्त्र प्रहरी बल काठमाडौं, न्यू स्टार क्लब सुनसरी, मोरङ्ग टे«निङ सेन्टर मोरङ्ग, नेपाल पुलिस क्लब काठमाडौं, झापा फुटबल क्लब झापा, गोर्खा ब्वाईज क्लब रुपन्देही, सङ्कटा क्लब काठमाडौं र घरेलु टिम उदयपुर ११ गरी ८ टिमको सहभागिता रहने मूल आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

चौधरीका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार नगद ५ लाख रुपैया रहेको छ भने उपबिजेतालाई नगद ३ लाख रुपैया रहेको छ । त्रियुगा नगरपालिकाको संयोजन, उदयपुर गैंडा छाप सिमेन्टको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितालाई उदयपुरका ४ नगरपालिका र ४ गाउँपालिकासहित ८ वटै स्थानीय तहको सहयोग रहेको बताइएको छ ।

१ नम्बर प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल (एन्फा), चौदण्डीगढी नगरपालिका, कटारी नगरपालिका, बेलका नगरपालिका, रौतामाई गाउँपालिका र रौता कन्ट्रक्सनको बिशेष सहयोग रहने प्रतियोगिताको व्यवस्थापन उदयपुर जिल्ला खेलकुद बिकास समिति, उदयपुर जिल्ला फुटबल संघ, त्रियुगा नगर युवा तथा खेलकुद बिकास समितिले गर्ने छन् ।


पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल (एन्फा) प्रवक्ता तथा उदयपुर गोल्डकप फुटबल प्रतियोगिताका पुर्व अध्यक्ष किरण राईले उदयपुर गोल्डकप जिल्लाको जेठो गोल्डकप भएको भन्दै सबैको साथ सहयोगबाट विगत ७ वर्षदेखि निरन्तर सफल सञ्चालन हुँदै आएको बताउनुहुदै सबैमा धन्यबाद ब्यत्त गर्नुभयो ।