लोककृषि मकैनाँच “राँमदल” जातिय झाँकीको रुपमा बिकसित

–यमन डोने ‘औलोविजय’
पृष्ठभूमि
बसन्त ऋतुको आगमनसंगै नयाँ बर्षको पनि आगमन शुरु भईसकेको हुन्छ । ऋतुहरुका राजा बसन्त याममा प्रकृतिका छटाहरुसंगै यत्रतत्र पालुवामय र पुष्पमय रौनकता फैलिसकेको हुन्छ । र, यसै अनुरुप रंगीबिरंगी फूलहरुमार्फत अत्तरझैं बासनारुपी यौवनाबस्था सुवाषकी मोहनी पवनमा भेट्न सकिन्छ ।
प्रकृतिका परिर्वतन रंगहरुसंगसंसै मौसमी बालीनाली खेतीपातिको पनि शुरुवात हुन थाल्दछ । यही बसन्तमा पुरानो बर्षको समाप्ती र नयाँ बर्षको उमगं पनि जोडिएर आएको हुन्छ । यही समयको खण्डमा कृषक जनहरुका बालीनाली लगाने समयको प्रारम्भ भएको मान्न सकिन्छ । ‘बर्खे धान रोपिन्छ र मकै बाली छरिन्छ ।’ खेताला पात गर्दै हली कोदालीको पर्म लगाएर सामुहिक काम गर्ने र खेतीपाति उतारिदै आएका हुन्छन् । यही पृष्ठभूमिको बिशेषता बोकेको ‘दनुवारडोने’जाति दुन,बेशी र खोलानदी किनारा आसपास क्षेत्रको पुरानो मूलबासी भनेर ‘डोने’लाई चित्रण गर्दा फरक पर्दैन ।
आदिबासी अस्तित्व र पहिचानको धनी जाति दनुवारडोने कृषकजनहरुले मौसम अनुसारको बालीनाली लगाउँने गर्दछन् । यो समुदायमको लागि पर्मखेतालापातबाट बालीनाली लगाउन र उतार्न छरछिमेकहरुका सरसहयोगको ठूलो हिस्सा रहेको पाईन्छ । आफ्ना र छिमेकीका (अरुका) समेत खेतीपाती आलोपालोकै सरसहयोगमा फत्ते गरिने पुरानो परम्परा आजकाल पनि यो जातिमा उत्तिकै उदाहरण्ीय रहेको देख्न सकिन्छ ।
यस जातिका मानिसहरु खेतीपातीको अथक परिश्रम र मौसमानुसारको उत्पादनसंग जीवन साट्दै र रमाउदै जीवन गुजाराको दिनाचार्य परापूर्वाकालबाटै बिताउँदै आएको बिश्वास मान्न सकिन्छ । र,उनीहरुले भन्ने गर्दछन् “धावन्ते खेती,घोकन्ते बिद्या” उखान टुक्काका मार्मिक लोकतर्कका बान्की प्रस्तुत गर्ने गरेको पाईन्छ । त्यसैले पनि सघन डोनेबस्तीहरुमा यस्ता भनाईहरु प्रसस्तै मात्रामा बर्तमान पुस्ताबाट पनि सुन्न सकिन्छ । यस जातिको जीवनगाथासित साईनो गाँसेको अर्को भनाई भने “पाखा शिकार जंगली पाषण रात, पानी शिकार सधै माछा भात” सामाजिक जीवानाचार्य मन्त्र नै साबित भएको मान्न सकिन्छ ।
र,यता भने आफ्ना फसल तथा अन्नबाली प्रशस्त फलाउन बारम्बार खेतीपातीका लागि कुलो,पैनी गोडमेलमा धाउनु नै पर्ने तर्क अघि बढाउँछन् ।
यो जातिको आदिम मुख्य पेशा कृषि,पशुपालन र तरकारीबालीमा बिशेषतः मुख्य बिशेष पेशा माछा मार्ने नै मान्न सकिन्छ । यस जातिहरुका ऐतिहासिक पूख्र्यौली थातथलो आदिम दुनबेसी,उपत्यका खोज, टार,खोरिया,भाँस्मे र खोलानदीको सिंन्चित उर्वरभूमि नै हो । त्यसैले पनि दनुवार(डोने)जाति आफूहरुलाई दुनको मूलबासी भूमिपुत्रको संज्ञामा परिचित गराउँन चाहान्छ । र, हो पनि । यसर्थमा कुनै मतभिन्नता भेटिदैन । आदिबासीको पृष्ठभूमिमा आफ्नो जाति समुदायको इतिहासको बिरासत आदिम डोने रहेको कुरामा कुनै दुईमत नरहेको पाईन्छ ।
कृषिमा आश्रीत लोककृषि जनजीवन यापन गर्दै आएका नेपालका आदिम मुलबासी दनुवारडोने समुदायका लागि चैत्र–बैशाष महिनासंगै खुशीयालीका साथ सहकाल मौसम उदय भएको मान्न सकिन्छ । यस जातिको लोकझाँकी नाँच भनेर चिनिदै आएको “राँमदली नाँच” अर्थात् “लोककृषि मकैनाँच” लाई ‘डोने’ लोकजीवनको आदम्य जातीय संस्कृति उपमाले परिभाषीत दिदै आएको पाईन्छ ।
राँमदलीभाकाको बिकसित रुप नै “राँमदल झाँकी”

मकै गोड्ने बेलामा गायिने ‘डोन्या लोककृषि’ बसन्तभाका ‘राँमदली’लाई आदिबासी ‘दनुवारडोन’ेले आफ्ना जातीय लोकझाँकीको जीवन्त सांस्कृतिक चिनारी बनाउँदै आएको पाईन्छ । खेतबारीमा मकै गोडमेल गर्ने खेताला पर्मको लोककृषि ‘डोन्याभाका’लाई ‘राँमदल नाँच’ले समेत परिभाषित गर्दै आएको पाईन्छ । यो अल्पबिकसित दनुवारडोने जातिका लागि ‘राँमदली डोन्याभाकाको लोकनृत्य ’रंगमञ्चको लोकनृत्य समेत बनेको छ ।
बिकासोन्मुख तथा अल्पप्रशासनिक एबं लोपन्मुख,अतिसिमान्तकृत सुचिमा रहेको दनुवार(डोने)आदिबासी जनजातिले ‘राँमदली अर्थात् राँमदल’लाई आदिम लोकनृत्य तथा आफ्ना जातीय झाँकी संस्कृति स्वरुपमा बिकास गरेका पाईन्छ । त्यसैले, यी जातिका मकै लोक कृषिनाँच राँमदली अर्थात् राँमदललाई जातीय सांस्कृतिक झाँकीको रुपमा शिरोपर गरिएको छ ।
कृषक लोकजीवन जीएका दनुवारडोने समुदायमा बर्षेनी चैत्र–बैशाष महिनामा खेतबारीको मकैसंगसंगै एैतिहासिक सांस्कृतिक धरोहर जोडिएर राँमदली बाहार आएको एकिन गर्न सकिन्छ । त्यसैले त भनिन्छ “दनुवारडोने जातिले खेतबारीको मकैमा खेलिदै आएको राँमदली लोककृषि सांस्कृतिक नाँचलाई आदिम मौलिक लोक नृत्य भनिएको हो । फलस्वरुपः लोक कृषि परम्परागत तथा एक पृथक जातीय पहिचान बोकेको सास्कृतिक धनी जाति दनुवारडोने भनेर चिनिएको छ । त्यसैले यो आदिबासी जातिले राँमदललाई आफ्ना मौलिक संस्कृतिको रुपमा शिरोपर गरिदै आएको पाईन्छ । आफ्ना पुख्र्याैली किसानले राँमदली लोकगाथा स्वीकार गर्दै आएको जीवनयापनशैली बिबिध कालखण्डमा परिवर्तित गर्दै आएता पनि मुल सांस्कृतिक मर्म बर्तमान पुस्तामा समेत सांस्कृतिक हस्तानन्तरण गरिनु पर्दछ । डोनेको सांस्कृतिक चेतना र भाषिक जर्गेनालाई बर्तमान तथा अनन्त भबिष्यत् पुस्ताले समेत आफ्ना जातीय अस्तित्व र पहिचानका लागि राँमदली भाकालाई बचानु आवाश्यक देखिन्छ । पूर्खाको लोकजीवन तथा लोकसंस्कृति जीवनगाथा बोकेको राँमदललाई भाबी पुस्तामा संरक्षण गर्न सकियो भने डोने जातिको सनंस्कृतिक अस्तित्व रहने निश्चित रहेको छ ।
अबिरल पूर्वकालखण्डदेखि पाखा शिकार,पानी शिकार र बर्तमानको कृषि जीवनयापनका साथ गुजारा चलाउदै आएको जाति भएकै कारणले हुन सक्छ “पढेलेखे कुचि काम हलो कोदाली गरे खाए माम” भन्ने चलन यो जातिमा सार्थकता भेटिन्छ । बर्तमान पुस्ताहरुले राँमदल सस्कृतिलाई जातीय मौलिक संस्कृति धरोहरको रुपमा अबलम्बन गर्दै समेत आएका छन् । भावी दनुवारडोने पुस्तामा यो संस्कृति गुम्ने खतरा भएको दाबी गर्दै जानकारहरुको सुझाब रहेको पाईन्छ ।
यो राँमदल संस्कृति कृषिलोक नाँच भए पनि दनुवारडोने जातिका लागि एक जीवन्त संस्कृति हो । आजभोली दनुवारडोने समाजमा चाडपर्ब,उत्सब र महोत्सब र सांस्कृतिक ऐतिहासिक सभा सम्मेलनहरुमा जातीय भाँकी स्वरुप राँमदल नाँचलाई सांस्कृतिक प्रदर्शन गरि राष्ट्रिय संस्कृतिको रुपमा दर्ज गर्दै आएको पाईन्छ । खेतबारीमा मकै छर्ने र गोड्ने समयमा दनुवारडोने जातिको लोप हुन लागेको राँमदली नाँच संस्कृति र संस्कारहरुको झाँकी प्रदर्शनले पुनः जीवन्त हुने गर्दछ । त्यसैले यो जाति तथा समुदायको मानिसहरुले परम्परागत लोककृषि मौलिक जीवनगाथा भएको महशुस गरि एक गर्बिलो पुख्र्यौली संस्कृति भएको स्वीकार गरिदै आएको छ ।
राँमदल कहाँ र कसरी खेलिन्छ ?
बिशेष गरि बारीको मकै दुईपाते भैसके पछि राँमदल नाम गरेको लोककृषि नाँचको राँमदली खेताला पर्म संस्कृति प्रथाको शुरुवाती हुने प्रचलन रहदै आएको छ । आदिम दनुवारडोने जातिले मकै गोड्ने बेलामा आफ्नै भाषा,संस्कृति र रितीरिवाहरुका गाथाहरुका संगालोका टुक्काहरुमा रचि राँमदली भाका स्वरमा स्वर मिलाएर गाउँदा मेलाको काम गरेको पत्तै पाईदैन ।
राँमदल खेल्दा–खेल्दै कुटो कोदालो ठोक्कियो भने सह गयो भन्ने भनाई छ । यदि ठोक्किए छ भने राँमदल खेली सकेपछि ठोक्याउने राँमदलीहरुलाई जरिमाना स्वरुप एक–एक बोतल अण्डी अगाडि राख्न लगाई सह आईहालोस् भन्दै कामना गरि अण्डी (निगार) खाने चलन रहेको छ ।

राँमदलीलाई कलौउ (खाजा)
मेलापातको मकै गोडिसके पछि राँमदली खेल भाकाको गीत पनि सकिन्छ । र,कलौउ खाने ताँजोपाँजो मिलाईने गरिएको हुन्छ । बारीमा राँमदली खेलाउने कृषक घरधनीले बिभिन्न प्रकारका परिकारहरु राँमदली खेतालालाई कलाउ (खाजा) खान दिने चलन निकै लोकप्रिय रहेको छ ।
राँमदल खेल्नेहरुका लागि दनुवारडोने बिशेष पुर्खौली चीजबिज बनाई मेलामै लगेर खुवाउनु घरधनी आत्मा सन्तुष्टी प्राप्त गरेको महशुस गर्ने गरेको ठान्दछन् । यसरी राँमदली खेतालालाई रिजाउन तथा खुसी बनाई पेटभरी खुवाउनलाई बर्मीको सिटन,मैंजलको सिटन,टोटेलाको सिटन,पिडालुको सोक्नो,पिनाको चट्नी,पुसुन,लर्बबरे,टाँकी,अम्चुर,बुँगाको सिटन,कोरी, प्रसस्त मात्रमा मोर(जाँड) र अण्डी(निगार) खुवाउने सांस्कारिक कृषि संस्कृति दनुवारडोने जातिमा अझै पनि लोकप्रिय चलन रहेको पाईन्छ ।
राँमदली खेतालालाई दुना,टपरी खाेंचीमा खाजा कलाउ दिने चलन रहेको छ । बिशेष गरि राँमदल खेल्दा, बियाड कार्दा, रोपाई गर्दा तथा बिहे,छेवर ,बेशी खादा र मोरु चोख्खिने भोज लगाउँदा जाँड रक्सी तथा पकाएका माछा मासु तथा अन्य सामाग्री राख्दा भोर्ला र सालको दुना टपरी गाँसिने गरिन्छ । तर मोरुमा भने तत्कालै दुना टपरी गाँसिने गर्दछन् भने अन्य कामकाजका लागि भने शुभकार्य हुनु महिना दिन अघि नै तयार गरि राखिने गर्दछन् ।

यस जातिका पुरुष,महिला र केटाकेटी मिलेर जातीय भेषभूषा,गरगहना लगाई ‘राँम्दलीखेम्ता ताल’ संगीतको राँमदली गीत गाउँदै नृत्य ढंगबाट कुटो कोदालोले मकै गोड्ने संस्कृति नै “राँमदल” भएको हो ।
राँमदल खेल बिधि
राँमदल खेल्दा खुट्टाको चाल मिलेको हुनु पर्दछ । कुटो,कोदालो ,तल र माथि ,छिटो र ढिलो हुनु हुदैन । सबैले एकै किसिमले मिलाउनु पर्दछ । भट्याउने एक जना हुन्छ । र, भट्याउने भाईले अनेकौ लोक कृषिजीवन कर्मका तथा संस्कृतिका टुक्काहरु जोडेर राँमदली प्रेमलहरी र प्रीति लहरीको राँमदल भाका गाउँने गर्दछन् । अनेकौ ताल र भाकामा गायिएर (भट्याएर) खेलिने सामुहिक लोककृषि मकैनाँच संस्कृति राँमदल हो ।
बर्तमान तथा भावी पुस्ताहरुले दनुवारडोने जातिको मौलिक लोकजीवनका लोकसांस्कृतिक अस्तित्व र पहिचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय चिनारीमा दर्ज गरिनु बर्तमानको माग हो । मातृभाषा, लिपी, साहित्य र जातिय संस्कृतिको रुपमा दनुवारडोने जातिको चिनारीका लागि मौलिक सांस्कृतिक पहिचानहरु संरक्षण र प्रर्बद्धनको पर्खाईमा रहेको छ ।
डोनेभाषा लोप हुदै
“पुस्ता सरे, भाषा मरे । भाषा मरे, जाति मरे । जातीयता मरे, पहिचान मरे । पहिचान मरे, अस्तित्व बिलिन भएर जाने हुँदा पूर्खाको लोकभाषा,लोकसंस्कृति र लोक साहित्यलाई जोगाएर राख्नु पर्ने बर्तमान पुस्ताको अनिबार्य सर्त हो ।” जनजाति र आदिबासीको लागि राष्ट्रियताको गौरबगाथा भनेको नै उनीहरुका मौलिक संस्कृतिहरु हुन् । त्यसरी नै दनुवारडोने जातिको भाबी पुस्ताको लागि राँमदली झाँकी अपरिहार्य जातीय संरक्षण र प्रर्बद्धलनको सर्त बन्नु पर्ने देखिन्छ । “राँमदल भनेको दनुवार(डोने) जातिको जातीय अस्तित्व र पहिचानको मूल चिनारी हो ।”त्यसैले राँमदली भाकालाई गीत संगीतमार्फत नेपालीजनजनका लागि महत्वपूर्णबोध गराउन बर्तमान(आज)को प्रभाबकारी आवाश्यता रहेको छ ।
उदयपुर जिल्लाको त्रियुगा नदी किनाराको सघन दनुवारडोने बस्तीमा ‘डोने मातृभाषा’ पूर्ण रुपमा मृत तथा लोप भईसकेको छ । यहाँका दनुवारडोने जातिले राँमदली भाका गीतको मातृभाषा अनुबाद सिन्धुपाल्चोक र काभ्रेका डोनेले गरिदिनु पर्ने अबस्था भएको छ । त्यसैगरी,कटारी नगरपालिका र चौडण्डीगढी नगरपालिकामा समेत डोने मातृभाषा पूर्णरुपमा लोप भईसकेको डोने मातृभाषा अभियान्ता औलोबिजयको भनाई रहेको छ । संबिधानमा उल्लेख भएअनुसार सघन आदिबासी जनजाति बस्तीहरुमा मातृभाषा (राष्ट्रभाषा)मा शैक्षिक पाठ्यक्रम तयार पारी बिद्यालयहरुमा स्थानीय आदिबासी जनजाति भाषाहरुको पठनपाठन सुरु भईसकेको छ ।
संरक्षणको पखाईमा
जिल्लामा दनुवारडोनेको जनसंख्या ९,२७२ रहेको छ केतबि.२०६८को अनुसार तर सो जिल्ला डोने मातृभाषा बोल्ने १ प्रतिशत पनि नरहेको सिसिएलसी,(२०७३)रिस्कूको प्रतिबेदनमा उल्लेख गरिएको छ । यस जातिको लोक संस्कति,लोक भाषा र लोक धर्म बर्तमान पुस्तामा परसंस्कृतिको सिकोले मरेको अाँकलन गर्न सकिन्छ । भाबी पुस्तामा भाषा संस्कृतिको चेतना र राज्यबाट संरक्षणको कदम नचालिने हो भने उदयपुरको भित्रि दुन,बेशी,टारको आदिम औलोबिजय सन्तान दनुवारडोने जातिको पुख्र्यौली रितभातको सांस्कृतिक पहिचानहरु पूर्णकालिन लोप भएर जाने निश्चित देखिन्छ । आदिम डोने भाषा यसक्षेत्रका दनुवारडोनेले आफ्ना मातृभाषा संरक्षण अभियानमा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको डोने भाषा जानकारहरुसित सिक्नुको अर्को कुनै बिकल्प नरहेको त्रियुगाबासी दनुवारडोनेको बुझाई रहेको छ ।
हामीलाई मातृभाषामा चिनारी दिने एक मात्र राँमदली भाकाको मातृभाषा अनुबाद पनि पाँचखाल र भिमटारका डोनेमातृभाषी समुदायको सहयोग लिनु पर्ने बाध्यकारी अबस्था भएको उनीहरुको भैसकेको छ । उदयपुरको दनुवारडोने जातिको लागि मातृभाषा लोप भईसकेको संकेत यही कुराले पुष्टि गर्छ ।
जिल्लामा डोने मातृभाषा लोप भएकै कारणले पनि राँमदली भाका र लोक कषि मकै नाँचलाई जातीय पहिचानको चिनारी बनेको छ । राँमदलीलाई सांस्कृतिक झाँकीको रुपमा बिकास गर्दै आएको हो भनि यस जातिको बुद्धिजीबि तथा मौलिक संस्कृति जानकारहरुले बताउदै आएका छन् । । जातीय पोशाकमा सजिएर राँमदली भाकाको राँमदल नाँच जातीय चिनारीको लागि सभा सम्मेलन तथा झाँकी प्रर्दशन स्थलहरुमा देखाउँदै समेत आएको पाईन्छ ।

अन्त्यमा ,
दनुवारडोने जातिको लागि राँमदल सांस्कृतिक झाँकी जातीय चिनारीको अब्बल लोक संस्कृति बनेको छ । उदयपुरको दुन क्षेत्रमा औलो पचाएर बसेका जाति भनेर चिनिएको राईडोने अर्थात् राईदनुवार(डोने) जातिको मातृभाषा डोने लोप भएर गएको छ । यस जातिको भाषिक अबशेषमा राँमदली भाका एक मात्र रहेको पाईन्छ ।
खस भाषामा प्रेम लहरी र प्रीति लहरीको संगालोमा रचिएको राँमदली भाकाको शब्द रचनालाई डोने मातृभाषामा अनुबाद गरि यस क्षेत्रका दनुवारडोने जातिले गीत संंगीत बनाईएको पाईन्छ । जिल्लाको चुरे पहाड उत्तर दिशा र महाभारतको दक्षिण दिशाको पूर्व पश्चिम दुन तथा खोंज, टार ,बेशीमा बहने गरेको स्थानीय खोला नदी किनारामा आदिम कालदेखि बिबिध प्रकृति बिपद् सहेर र झेलेर जीबिकोपार्जन गरि आएको जाति नै दनुवारडोने जाति हो ।
जिल्लाको त्रियुगा नदी,बरुवा खोला,बैधनाथ खोला तावा खोला, ककरु खोला, मरुवा खोला किनाराको टार,बेशी भाँस्मे भूमिमा बस्ती बसालेका यी जाति सरल र सिधा रहेका छन् ।
औलो महामारी तथा सर्प,खजुरा,बिच्छी बाघ,भालू तथा बिभिन्न हिंस्रक जनाबरको प्रतिकार गर्दै जिल्लाको दुन क्षेत्रको आदिमकालिन बिजयबासी भनेको नै दनुवारडोने औलोबिजय जाति हो । खेतीकिसानको जीवन गुजारा बिताउदै आएका पुर्खाको सन्तानहरु नै राँमदली खेलको प्रबर्धक बनेको हो । यी जातिमा एक्काईसौ सताब्दीको शिक्षा चेतना दुई तीन दशक अघिबाट सुरु भएको देखिन्छ ।
राजनीति क्षेत्रमा यो जाति बिरलै प्रबेश गरेको पाईन्छ । जनयुद्धताका बेला केही समाज परिर्वतन गर्न राजनीतिमा भाग लिएको पाईन्छ । जनयुद्धको चेतनासंगसंगै लोकतन्त्रको आगमनमा यो जातिमा राजनीति तुषाएको पाईन्छ । सबिधान सभाको निर्बाचन पहिलो र दोस्रो निर्बाचनमा बिधायीकाको लागि राजनीति दलको उमेद्बार बनेको पाईन्छ । राजनीति बिकासमा यो जाति समुदाय स्थानीय तहमा जनप्रतिनीधि समेत बनेको पाईन्छ । यो जाति तथा समुदायको राजनीति चेतना पंचायत ब्यबस्थाबाट प्रारम्भ भएको मान्न सकिन्छ । राजनितिमा यो जातिको बिस्तारै बिकास भएको पाईन्छ ।
शैक्षिक,समाजिक स्तरहरुमा बिस्तारै बिकाशोन्मुख अबस्थामा पाईला चालेको पाईन्छ । सुदुर भबिष्यमा यो जातिको सामाजिक,शैक्षिक,राजनैतिक ,सांस्कृतिक एकता र प्रगतिको उषाकिरण निश्चित रहेको पाईन्छ । आफ्नो भाषा,संस्कृति र भाषिक साहित्यमा कलम चलाउन सक्ने चेतनाको चेतबोध ब्यक्तित्वहरुको उदयमान अबस्था देखिन्छ । सरकारी तथा गैरसकारी सेवा नीजी ब्यापारब्याबसाय र प्राबिधिक शिक्षमा समेत चेतनाको चासोको दियो बलिसकेको अबस्था छ ।
दनुवारडोने मानब बिकास सुचाङ्कनमा अल्पबिकाशोन्मुख जाति समुदायभित्रको आदिबासी जनजाति हो । यो आदिबासी जातिको मौकिक संस्कार संस्कृति बोकेको आदिम औलो पचाएको नेपालको दुन प्रदेशको मुल डोने जाति हो । आदिम डोने जाति समुदाय नै हालको दुन,बेशी टार र उपत्यकाका मूल मंगोलबासी डोने नै हाल ‘दनुवार’ जातिको सुचिकरणमा सुचिकृत रहेको पाईन्छ ।
यीनै औलो महामारी बिजय गरि बाँचेका जातिको लोककृषि मकैनाँच नै राष्ट्रिय पहिचानको लागि राँमदल जातीय सांस्कृतिक झाँकी बनेको छ । यो सांस्कृतिक झाँकीको राँमदली भाका राज्यको सम्पति हो । यसको खोज अनुसन्धान गरि मौलिक रुपमा संरक्षण र प्रर्बद्धनको बिकास गर्नु राज्यको अहम दायित्व हुन आउँछ ।
(लेखक –डोने बिद्यार्थी समाजको संस्थापक अध्यक्ष एवं छापा तथा श्रब्यदृष्यका मिडियामा आबद्ध पत्रकार हुनुहुन्छ ।)