“जनता संग मेयर” वडामै बैंक खाता खोलीने , वडा नं १ मा २ सय ५ जनाले लिए स्वास्थ्य सेवा

उदयपुर , बैशाख १४

शुक्रबार देखी उदयपुरको त्रियुगा नगरपालिका वडाहरुमा “जनतासँग मेयर कार्यक्रम” सुरु भएको छ । कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर , बिद्यालय भर्ना अभियान , कुपोषित बालबालिकालाई सर्वोत्तम पिठो वितरण, निशुल्क बैंक खाता संचालन , निशुल्क औषधी बितरण लगाएतका सेवा सहित “जनतासँग मेयर कार्यक्रम”सुरु भएको हो ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै नगर प्रमुख बलदेव चौधरीले यस्ता किसिमका स्वास्थ्य शिविर नगरपालिकाका १६ वटै वडामा संचालन गर्ने र स्वास्थ्य सेवालाई सवैको पहुँचमा पुर्याउने बताउनुभयो । शिविरमा नगरपालिकाका ग्रामिण क्षेत्रका विपन परिवारका महिलामा देखिएको पाठेघर खस्ने समस्या, जेष्ठ नागरिकहरुको मुटुको समस्या जस्ता रोगको निःशुल्क चेक जाँच गरिने प्रमुख चौधरीले बताउनुभयो । संविधानले ग्यारेन्टी गरेको स्वास्थ्य र शिक्षालाई सर्वशुलभ र सवैको पहुँच पुर्याउन नगरपालिका अहोरात्र खट्ने प्रतिबद्धता समेत ब्यत्त गर्नुभयो ।

वडा न. १ जोगीदह देखी सुरु भएको कार्यक्रम क्रमश वडा न. २ / ३ हुंदै वडा न. १६ सम्म यही वैशाख २८ गते सम्म प्रत्येक वडामा १ दिने स्वास्थ्य शिविर तथा बिभिन्न कार्यक्रम संचालन हुने बताइएको छ ।शुक्रबार वडा न.१ जोगीदहमा भएको स्वास्थ्य शिविरमा २ सय ५ जनाले सेवा लिएका छन । सेवा लिनेमा बढी महिलाहरु रहेको त्रियुगा नगरपालिका स्वास्थ्य सेवा शाखाका अवध नारायण चौधरीले बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्य शिविरमा २८ जनाको मुटुको चेक जाँच गरिएको थियो भने ४४ जनाको सुगर, मृगौला तथा दिशा, पिसाव, रगत लगायत ल्याब टेष्ट गरिएको थियो । शिविरमा यौन रोग तथा प्रजन्न स्वास्थ्य सेवा, निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।
६५ जना महिलाको पाठेघर खसेको जाँच गरिएको थियो । जाँच गरेको मध्ये तीन जना महिलाको पाठेघरमा रिङ अर्थात चुरा राखिएको थियो भने एक जना महिलाको पाठेघर खसेर बाहिर निस्किएकोले अप्रेशन गर्नको लागि रेफर गरिएको थियो । एक जना महिलामा पाठेघरको मुखको क्यान्सर संक्रमित विरामी भेटिएको थियो । शिविरमा स्वास्थ्य शिक्षा तथा परामर्श सेवा समेत संचालन गरेको थियो ।

यस्तै ४० कुपोषित बालबालिकालाई सर्वोत्तम पिठो वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा कटारी अस्पतालका स्त्री रोग विशेषज्ञ डा. पवन शाह र १८ नं. बाहिनी अड्डा भुल्केका मेडिकल अफिसर प्रलाद महतोको टोलीले जाँच गरीरहेका छन ।