सेनटरी प्याड गुणस्तरहिन भएको बिद्यार्थीको आरोप

उदयपुर , जेठ १४
सरकारले विद्यालयमा निशुल्क उपलब्ध गराएको सेनेटरी प्याड गुणस्तरहिन भएको बिद्यार्थीले आरोप लगाएकाछन् । मंगलबार उदयपुरको सदरमुकाम गाईघाटमा आयोजना गरिएको अन्तर्राष्ट्रिय महिनावारी सरसफाइ दिवस, वहस तथा प्रर्दशनी कार्यक्रममा सहभागि बिद्यार्थीले गुणस्तरहिन भएको आरोप लगाए ।
वहस कार्यक्रममा सहभागिबाट आएको प्रश्नलाई जवाफ दिन रोष्टममा बसेका प्रदेशनंम्बर १ का सामाजिक बिकास मन्त्री जिवन घिमिरेलाई बिद्यार्थीले गुणस्तर कायम गरेर मात्र वितरण गर्न आग्रह गरे । बालमन्दिर माध्यमिक बिद्यालयकी कक्षा १० मा अध्ययनरत बालिका अनुस्का राईले कम गुणस्तर भएकाकारण प्रयोग गर्दा असर गरेको बताईन् ।
उनले भनिन्, ‘राम्रै ठानेर प्रयोग गरेको चिलाउने, गन्हाउनु, दुख्ने जस्ता समस्या देखापरेको छ । त्रियुगा नमुना माध्यमिक बिद्यालयका शिक्षिका किस्मा हमाल ठकुरीले दुखाई कम गर्न खाएको औषधि खानसाथ अझ बढि रक्तश्राव हुने गरेको बताईन् ।
उदयपुरपुर मनकामना बोडिङ स्कुलका प्रिया राईले गुणस्तर नभएकैकारण एलर्जी हुने गरेको बताईन् । सहभागि मध्ये सवाल राखेका एक दर्जन मध्ये ८ जनाले कम गुणस्तर भएको आरोप लगाए । कार्यक्रममा उदयपुरका झण्डै १ सय ७० जना छात्रा बराबर एक शौचालय रहेको तथ्यांक प्रस्तुत गरियो ।
महिनाबारी भएको बेला झण्डै ५० बिद्यार्थी बिद्यालय नजाने गरेको, १५ प्रतिशतले सेनेटरी प्याड प्रयोग गर्ने गरेको तथ्यांक प्रस्तुत गरिएको थियो । कार्यक्रममा महिलाले आफ्नो जीवनभरी ४ सय पटक महिनाबारी हुने गरेको, ७२ बर्षको औषत आयुमध्ये ५ बर्ष महिनाबारीमा बिताउनु परेको तथ्यांक प्रस्तुत गरियो ।
सहभागिबाट आएका जिज्ञासाको प्रतिउत्तर दिँदै सामाजिक बिकास मन्त्री जिवन घिमिरेले महिनाबारी अभिषाप नभई बरदान हो भन्ने भनाईलाई स्थापित गर्न प्रदेस सरकारले गुरुयोजना, रणनीतिक योजना बनाई अघि बढेको बताए ।
उनले महिनाबारी महिलाको इच्छा, आकांक्षामा नभई प्रकृतिको अनुपम उपहार भएको बताए । मन्त्री घिमिरेले पश्चिमको जस्तो छाउपडिप्रथाको अवशेषहरु प्रदेशनं १ मा पनि रहेकाले त्यसको अन्त्यका लागि मन्त्रालयले योजना अघि सारेको बताए । उनले महिनाबारीलाई धर्म र पापकोरुपमा हेर्न जमात अझैपनि रहेकाले प्रतिबादका लागि लाज र धक नमानी अभियान सञ्चालन गर्नु पर्ने बताए ।
प्यानल छलफलमा सहभागिबाट आएका प्रश्नको जवाफ मन्त्री घिमिरे, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, कटारी अस्पतालका प्रमुख डा. पवन साह, अधिकारकर्मी भरतकुमार खड्का, बालमन्दीर माध्यमिक बिद्यालयका प्रधानाध्यापक जगंबहादुर खड्का, युवा अभियन्ता प्रसुना खड्का लगायतले फर्काएका थिए ।