वडाध्यक्ष २५ हजार घुस सहित रंगेहात पक्राउ

सप्तरीको सुरुङ्गा नगरपालिका ५ का वडाध्यक्ष २५ हजार घुस सहित रंगेहात पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाअध्यक्ष शिल्टु मियालाई २५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।
पक्राउ परेका वडाअध्यक्ष मियाँमाथि मुचुल्का उठाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले जग्गा मोही छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिईरहेका बेला वडा अध्यक्ष मियाँलाई पक्राउ गरेको हो । मियाँमाथि अनुसन्धान थालिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
सरकारले ०७५ साल १७ असोजमा भ्रष्टाचार नगर्ने कसम खान सबै कर्मचारीलाई निर्देशन दियो । सबैले कार्यालय प्रवेश गर्नुअघि शपथ पनि खाए । तर, घुस लिन छाडेनन् ।
प्रधानमन्त्री कार्यालयले परिपत्र गरेको एक वर्ष नबित्दै विभिन्न सरकारी कर्मचारी कार्यालय समयमै घुस लिँदालिँदै पक्राउ पर्नेको संख्या दिन दिनै बढ्दै गएको छ ।