मैनामैनी महोत्सवको आकर्षण ‘सिस्नो, ढिडोँ, मह र टाकीँ’

गाईघाट , कात्तिक १२
ऐतिहासिक धार्मिक तथा प्राकृतिक सम्पदाको महत्व बोकेको उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीलाई पर्यटकिय हवकोरुपमा विकास गर्न पहिलो पटक पर्यटन महोत्सव लगाईने भएको छ ।
धार्मिक तथा पर्यटकिय क्षेत्रकोरुपमा परिचित हुँदै गएको मैनामैनीलाई पर्यटकिय क्षेत्रकोरुपमा विकास गरी आर्थिक समृद्धीको ढोका खोल्ने उदेश्यकासाथ महोत्सवको तयारी गरिएको हो । पुष १ देखि ७ गतेसम्म लाग्ने महोत्सवको प्रमुख आकर्षकहरु पर्यटकिय क्षेत्रको अवलोकन र खानका लागि स्थानीय उत्पादित सिस्नो, ढिडोँ, टाँकीको तरकारी र मह हुनेछन् ।


महोत्सवमा चम्पाकोटबाट दैनिक प्याराग्लाइडिङ, पुष्पवृष्टि, रानीटारबाट दैनिक र्याफ्टिङ, कोसी नदीमा जलविहार, कोशी टप्पु वन्यजन्तु आरक्षमा दैनिक जंगल सफारी, कोलोहोङ झरनामा क्यानोरिङ पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र बनाइएको छ ।


त्यसैगरी मनमोहक हिमसृङ्खला, अरुण, तमोर, सुनकोसी (तीन कोसी)को संगम स्थलको दृष्यावलोकन, टंकेला गुफा तथा हिज होलिनेस मास्टर गडएन्जलको जन्मभुमिको अवलोकन, मैनारानी देवी, माङ्काल देवी, चम्पाकेसरी तथा जाल्पादेवी, वराहा क्षेत्र मन्दिर, प्राचित हरिद्धार चतराधामको दर्शन तथा अनुष्ठानलाई पनि आकर्षकको केन्द्र बनाइएको छ ।
महोत्सवमा स्थानीय मौलिक खानेकुरा, मौलिक सांस्कृतिक, झाँकी प्रर्दशन, आर्गनिक कृषि उत्पदानका स्टलहरु राखिने महोत्सव मुल आयोजक समितिका संयोजक तथा बेलका नगरपालिका वडानं ७ का वडाध्यक्ष सुरेन्द्र राईले जानकारी दिए ।


त्यसैगरी अन्य मनोरञ्जनतर्फ बाल उद्यान, नृत्य, संगित, हास्यव्यङ्ग्य, जादु, अनौठो कला, भलिवल, व्याडमिन्टन लगायत खेलकुद, राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातीप्राप्त कलाकारको प्रस्तुति, नौकालगायतका अन्य खेलहरु राखिने उनले बताए ।
प्रर्दशनीकोरुपमा पर्यटन सम्बन्धि जानकारी, फोटो चित्रकला, औद्योगिक, आर्गनिक कृषिबाली प्रर्दशनी राखिनेछन् । महोत्सवबाट मैनामैनी क्षेत्र भित्रका प्राकृतिक, सांस्कृतिक र भौगोलिक क्षेत्रहरुको प्रचारप्रसार भई उत्पादन र वजारिकरणमा मद्धत पुग्ने आयोजकले विश्वास लिएको छ ।


छिमेकी भोजपुर, धनकुटा, सुनसरी जिल्लासँग जोडिएको वडानं ७ मैनामैनी १ नम्बर प्रदेशकै जल यातायातको सुगमताकोरुपमा लिईन्छ । मैनामैनीबाट वग्ने सप्तकोसी नदीमा हाल मोटरबोट सञ्चालनमा छ । मोटरबोटबाट सुनसरी र उदयपुरको सिमास्थल चतराघाटबाट वराहाक्षेत्र हुँदै धनकुटा जिल्लाबाट वग्ने अरुण, तमोर र भोजपुर जिल्ला छोएर वग्ने सुनकोसी नदीको सिम्लेसम्मको १६ किलोमिटर यात्रा गर्न सकिन्छ ।


मैनामैनी बुङसुकोटे राजा, मैना राजा मैना रानी बसोबासर गरी राज गरेको ठाउँकोरुपमा परिचित छ । पर्यटनको सम्भावना, पर्यटनमा सहभागिता र पर्यटनले समृद्धी भन्ने मुलनाराकासाथ आयोजना गरिएको महोत्सवमा ६५ लाख रुपिँयाको आम्दानी, ६१ लाख ७५ हजार खर्च र ३ करोड बढिको कारोबार हुने अनुमान गरिएको छ ।
एक हप्तासम्म लाग्ने महोत्सवमा आन्तरिक र वाह्यि गरी एक लाख बढि पर्यटक भित्रने अनुमान गरिएको छ । ६ वटा उपसमिति गठन गरी तयारीलाई तिव्रता दिइएको महोत्सवका लागि आउन जान अलग–अलग रुढ तय गरिएको संयोजक राईले बताए ।


मदन भण्डारी राजमार्गदेखि १२ किलोमिटर उत्तर कच्चि सडक हुँदै महोत्सव स्थल पुगिने छ । महोत्सव स्थलमा होटलहरु नभएकाले आगन्तुकहरुका लागि होमस्टे सञ्चालन गरी बास बस्ने प्रवन्ध मिलाइने उनले जानकारी दिए ।
पर्यटकिय क्षेत्रकोरुपमा बेलका नगरपालिकालाई विकास गर्न नगरपालिकाले छुट्टै गुरुयोजना तयार गरी कार्यक्रमहरु अघि सारेको मेयर दुर्गाकुमार थापाले बताए । उनले स्थानीय, प्रदेश र केन्द्रिय सरकारसँग समन्वय गरी पर्यटकिय हवकोरुपमा विकास गर्न लगानी सुरु गरिएको बताए ।