बेलका नगरपालिकाको उत्पादन वर्ष नारामै सिमित ,विवादका बीच रोपेको लेमन ग्रास ९० प्रतिशत मर्यो

उदयपुर, माघ ८
‘‘कृषिमा लगानी, ल्याउँछ सुनौलो विहानी’’, ‘‘उत्पादनमा हाम्रो साथ, बस्दिन म खाली हात’’ र ‘‘समृद्धिको लागि उत्पादन वर्ष मनाउने’’ लगायतका नाराहरु अहिले बेलका नगरपालिकाको लागि निल्नु न ओकल्नु भएको छ । शब्दकोषको उत्कृष्ठ शब्दबाट छनौट गरेर बनेका नाराहरु व्यवहारमा नदेखिदा अहिले बेलका नगरपालिकाका सर्वसाधारणमा उत्पादन वर्ष हो कि आफ्न्त निकट वर्ष हो भन्ने चर्चाहरु चुलिन थालेका छन् ।


बेलका नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को लागि कृषि र पशुमा ५ करोड, केन्द्रिय सरकारको २ करोड र हेल्भेटास नेपालले ४५ लाख गरी ७ करोड ४५ लाख रकम रहेपनि उत्पादन वर्षमा उपलब्धी शून्य रहेको नगर कार्यपालिकाका एक सदस्यले बताए । उनका अनुसार साढे सात करोड भन्दा बढी रकम रहेपनि वडा कार्यालयहरुमा जम्मा जम्मी १ करोड मात्रै छुटयाएको र ६ करोड ५० लाख रकम नगरपालिकाका आफै खर्च गर्ने गरी विनियोजन गरिएको बताए । उनका अनुसार ५० प्रतिशत अनुदानमा धान, मकै, गहुँ, आलु विउ विजन वितरण गरेर उत्पादन वर्ष सफल नहुने बताए । कार्यसमिति सदस्यका अनुसार उत्पादन वर्ष वन जंगलको जग्गामा नहुने प्रमाणि लेमन ग्रासले देखाई सक्यो । उनले भने, ‘उत्पादन वर्ष नै मनाउने हो भने कृषकको विगहौ जग्गा त्यसै खेर गई रहेको छ, कसैलाइ काखा कसैलाई पाखा होइन, योजना बनाएर कृषक र नगरपालिकाले साझेदारी गरेर उत्पादन वर्ष मनाउनु पर्यो । आफु निकट व्यक्तिलाई जिम्मेबारी दिएर होइन् ।’
उत्पादन वर्षको बारेमा आफु कृषकहरुलाई थाह नभएको मिनुराम चौधरीले बताईन् । उनले भने, ‘नगरपालिकाले उत्पादन वर्षको नाममा

ठूल ठूलो हो हल्ला फिजाएको छ, त्यसमा के छ ? कसो छ ? के पाइन्छ ? जग्गा दिन्छ कि विउ विजन दिन्छ , दुविधा हो कि सुविधा हो ? हामीलाई ज्ञान पनि दिलाएको छैन् । हामीले पाएको पनि छैनौ भेटाएको पनि छैनौं ।’ उनले भने, ‘हामीले रुढीवुढी तरिकाले आफुहरुले खेती पाती गर्दै आएका छौं, त्यसले गर्दा हाम्रो उत्पादन घट्दै घट्दै गई रहेको छ, हामीलाई जिवनयापन गर्न हामीलाई गाह्रो भएको छ ।’ उनले थपे, ‘हामीले लगाएको धान, मकै, गहँु कोशीटप्पु आरक्षणको जंगली जनावर र भारतीयहरुले छोडेको गाई भैसीले हाम्रो बाली नाली रातमै सखाप गर्ने गरेको छ । यसलाई रोकथामको लागि नगर सरकारको ध्यान जाओस् ।’


मिनुराम चौधरी झै अर्का कृषक मिना श्रेष्ठले नगरपालिकाको उत्पादन वर्षको बारेमा आफुहरुलाई केही थाह नभएको बताईन् । श्रेष्ठले भनिन्, ‘हामीलाई आलुको विउ सुपथ मुल्यमा पाइन्छ भनेर भनेको थियो लिन जानेबेलामा सकियो भन्यो । खोई उत्पादन वर्ष भनेको के हो मलाई थाह छैन् ।’
उत्पादन वर्षमै पहिलो झटका
उदयपुरको बेलका नगरपालिकाले विभिन्न विवाद र होहल्ला गरेर रोपेको लेमन ग्राँस मरेको छ । लेमन ग्रासको विरुवा रोपेपछि उचित समयमा सिँचाईको व्यवस्था नगर्दा लेमन ग्रास खेती गर्न रोपेको विरुवा मरेको हो ।


बेलका नगरपालिका–३ स्थित कोशिटप्पुको एकता चौकमा लेमन ग्रास रोपेको थियो । रोप्ने बेला वन कार्यलय र नगरपालिका बीच विवाद भएको थियो । वन कार्यालयको आरोप थियो खयरको बोट मासेर लेमन ग्रास लगायो, वन अतिक्रमण भयो, नगरपालिकाको दावी थियो, वन कार्यालय विकास विरोधी भयो ।
त्यही आरोप र प्रत्यआरेपका बीच बेलका नगरपालिकाले चालु आर्थिक वर्षलाई उत्पादन वर्षका रुपमा मनाउनको लागि लेमन ग्रास खेती सुरु गरेको उद्घोष गरेको थियो । साविकको जिल्ला वन कार्यालयले वन क्षेत्र अतिक्रमण हुने सम्भावना देखेपछि सामुदायिक वन उपभोक्ता समिति मार्फत दर्ता गराएर लेमन ग्रास खेती आरम्भ भएको थियो ।


जिल्लामा पहिलो पटक लेमन ग्रासको खेती गर्न लागेको प्रचार प्रसार तिब्र गरेर रोपेको लेमनको विरुवा अहिले मरेको छ । ‘रोप्ने वेलामा नगरपालिकाले होहल्ला र कोलाहल मच्चाएको थियो ।’ एक स्थानीयले भने, ‘अहिले समयमै सिचाँइ सुविधा हुन नसक्दा लेमन ग्रासका विरुवा मरेको छ ।’


५१ विघाभन्दा धेरै जग्गामा लेमन ग्रास रोप्ने नगरपालिकाको योजना वन कार्यालयसँग विवाद भएपछि ८ विघामा खुम्चिएको थियो । त्यही ८ विघामा रोपेको लेमन ग्रास विरुवा अहिले अधिकांस मरेको बेलका नगरपालिका–३ स्थित सिर्जना टोलमा रहेको पौरखी कृषि समुहकी विष्णुमाया थापाले बताईन । ‘नगरपालिकाले जमिन मुनीको पानी तानेर सिचाँई गर्ने विभिन्न उपकरणहरु दिन्छु भनेको थियो ।’ उनले भनिन, ‘अहिले त्यो पनि दिएन, अनि सवै लेमन ग्रास म¥यो ।’


पौरखी कृषक समुहका अध्यक्ष कान्छाकाजी थापाले नगरपालिकाले सिचाँईको लागि दिन्छु भनेका पानी तान्ने मेशिनहरु नदिँदा लेमन ग्रास मरेको बताए । ‘लेमनको खेतीको फाइदा धेरै छ,’ उनले भने, ‘म आफु विरामी छु, दौडेर नगरपालिका जान सक्दिन, नगरपालिकाकाले सिचाँईको लागि दिने भनेका विभिन्न उपकरणहरु समय दिएन, धेरै विरुवामा मरे ।’
लाखौं खर्च गरेर रोपेको लेमन ग्रास एक सय विरुवामा १० विरुवामा मात्र बाँचेको स्थानीयको भनाई छ । भारतबाट करिव चार लाख लेमन ग्रासको विरुवा ल्याएर रोपिएको थियो ।


नगरपालिकाकाले लेमन ग्रास खेती बढाउँदै लैजाने योजना रहेको वेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले जानकारी दिए । ‘लेमन ग्रास रोप्ने वेलैमा वन कार्यालयको अवरोधका कारण एक लाखभन्दा धेरै विरुवामा मरे,’ उनले भने, ‘त्यहाँ रोपेपछि किसानहरुले सिचाईमा अलिकति ध्यान दिएनन, नगरपालिका मै सिचाईको लागि सोलर पम्पहरु आइसकेको छ, त्यो लगेर व्यवस्था गर्नु किसानहरु आएका छैनन, अव बोलाएर पठाउने तयारीमा छु ।’उनले मरेको लेमनको विरुवाको ठाँउमा अर्को विरुवा लगाउने योजना नगरपालिकाको भएको पनि बताए । जुन मरेका विरुवालाई हे¥यो भने नगरपालिकाको बजेट मिल्काउने काम भएको रहेछ भन्दा फरक पर्दैन ।

के हो लेमन ग्रास ?
‘लेमन ग्रास’ अर्थात् कागतीको वास्ना आउने सिरु जस्तो घाँस । स्वाद पनि ठ्याक्कै कागतीको जस्तै हुन्छ । यो वनस्पति पूरै नेपालभर फिंजिएको छ, तर मसला वा आँगनको डिल सजाउने बिरुवाको रूपमा पनि यसलाई लिइन्छ । यसको प्रशोधन गरेर सुगन्धित तेल पनि बनाउन सकिन्छ । यसको तेलको मुख्य बजार औद्योगिक देशहरू हुन् । यो सुगन्धित तेल विभिन्न ब्राण्डका महँगा पर्फ्यूम, क्रिम, फेसवास, साबुन, स्याम्पु, बडी स्प्रे, जेल आदि सौन्दर्य प्रसाधन र औषधिमा प्रयोग गरिन्छ । अहिले त नेपालमै पनि यसको माग बढिरहेको छ ।
यस्तो हावा पानीमा खेती गर्न सकिन्छ ?


लेमन ग्रासको खेती नेपालको हिमाली क्षेत्रबाहेक सबै ठाउँमा हुन्छ । मध्यपहाड, खोंच, बेसी, मधेश र भित्री मधेशमा त यो खूबै सप्रन्छ । गर्मी हावापानी भएको ठाउँमा त वर्षमा तीन पटकसम्म यसको उत्पादन लिन सकिन्छ । पहाडमा वर्षमा कम्तीमा दुई पटक काट्न सकिन्छ । यसका लागि परम्परागत अन्नबालीको खेतीमा जस्तो जनशक्ति पनि चाहिन्न । न वर्षेन बीउ छर्नुपर्छ न त गोडमेल गरिरहनुपर्छ । अरू अन्नबालीलाई जति मल–जल पनि चाहिंदैन ।


जनशक्तिको अभावमा बाँझो बस्न थालेका खेतबारीहरूमा लेमन ग्रास लगाउन सकिन्छ। लेमन ग्रास त भीर, कान्ला र पाखोमा पनि हुन्छ । धेरै जमीन हुनेलाई व्यावसायिक खेती र थोरै जग्गा हुनेलाई अतिरिक्त आम्दानीका लागि निकै उपयुक्त छ, लेमन ग्रास । लेमन ग्रास प्रकृतिमा यतिकै पनि फुल्न–फल्न सक्ने हुनाले यसमा रोग–कीरा लाग्ने हुँदैन । यो अत्यन्तै तीव्र गतिमा बढ्ने तथा फैलिने खेती पनि हो । उदयपुरका ८० प्रतिशत भुभागमा खेती गर्न सकिने जनाकारहरुको भनाइ छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]