प्रकाण्ड लाइ उदयपुर ल्याइयो , आज अदालत उपस्थित गराउने

उदयपुर , भदौ ३१
बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहसपछि सर्वोच्च अदालतको आदेशमा शुक्रबार रिहा भएलगत्तै प्रहरीले अदालत परिसरबाटै पक्राउ गरी नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई वम विस्फोट र कर्तव्य ज्यान मुद्धाको अभियोगमा उदयपुर ल्याएको छ ।

प्रवक्ता प्रकाण्डलाई विभिन्न समयमा वम विस्फोट गराई आठ जना घाइते बनाएको आरोपमा उदयपुर ल्याईएको हो । उनलाइ आजै जिल्ला अदालत बोक्सेमा उपस्थित गराउने भएको छ । गैरकानूनी रुपमा गिरफ्तार गरी सरकारले प्रहरी हिरासतमा राखेको जनाउँदै रिहा गर्न मागसहित भाई विरेन्द्र विश्वकर्माले गत हप्ता दायर गरेका रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै रिहा गर्ने आदेश दिएको थियो । तर, उनलाई उदयपुरमा वम विस्फोट गराएको अभियोग लगाएर पुनः गिरफ्तार गरिएको हो ।

गत मंसिर १३ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रचार प्रसारको क्रममा उदयपुरगढी नगरपालिका ६ स्थित दनुवारबेसीमा भएको बम विस्फोटमा कांग्रेस उम्मेदवार नारायण बहादुर कार्कीसहित सात जना घाइते बनाएको र गत चैत्र २८ गते त्रियुगा नगरपालिका स्थित थरुहट रंगशाला नजिकै हवाई फिल्डको चौरमा भैँसीका पाडा चराउँदै गरेका स्थानीय १४ वर्षिय बालक पारस राईले झोलामा कालो वस्तु देखेको र त्यो हेर्न खोज्दा विष्फोट भई घाइते बनाएको आरोपमा प्रवक्ता प्रकाण्डलाई उदयपुर ल्याएको डिएसपी मेघराज अधिकारीले बताए । प्रकाण्डमाथि उदयपुर प्रहरीले ‘विष्फोट र कर्तव्य ज्यान’को अभियोग लगाइएको छ ।

गत साउन २२ गते पार्टी कामको सिलसिलामा हेटौंडबाट काठमाडौं आउँदै गर्दा फर्पिङ–बल्खु सडक खण्डअन्तर्गत टौदहनजिक चाल्नाखेलबाट गाडी, चालकसहित गिरफ्तार गरे यता अदालतको आदेशमा पटकपटक रिहा र पटक पटक गिरफ्तारीमा पर्दै आएका थिए ।

प्रवक्ता प्रकाण्डलाई आज जिल्ला अदालत उदयपुरमा हाजिर गराउने डिएसपी अधिकारीले बताए । उनलाई व्यापारीसँग सात करोड रुपियाँ चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो । त्यसपछि उनलाई काभ्रे, नुवाकोट, दाङ पुराएर विभिन्न मुद्दा लगाइएको थियो । दाङमा राखिएका उनलाई प्रहरीले हेलिकप्टरबाट सर्वोच्चको आदेशमा काठमाडौं ल्याएको थियो । सर्वोच्चको आदेश पछि उनीलाई फेरी उदयपुरको वम विस्फोटको मुद्दामा प्रहरीले पक्राउ गरी उदयपुर ल्याइएको हो ।

यस्तै सोही घटनामा संलग्न भएको आरोपमा सोलुखुम्बु सोताङ गाउँपालिका १ बस्सने राकेश किराँती, खोटाङ साकेला गाउँपालिका १ च्यानडाँडा बस्ने चन्द्र बहादुर बुढाथोकी, भोजपुर षडानन्दद नगरपालिका १३ बस्ने दिपेश राई र घनकुटा हाट बजार घर भई हाल मोरङ केराबारी गाउँपालिका ३ बस्ने दिपक राई पक्राउ परेका छन् ।