पहिरोका कारण गत असार २८ गतेबाट अबरुद्ध सिद्धिचरण राजमार्ग शुचारु

कटारी , साउन २८
सगरमाथा द्वारको रुपमा परिचित सिद्धिचरण राजमार्ग शनिबारबाट शुचारु भएको छ । बाढी पहिरोका कारण गत असार २८ गतेबाट उदयपुर सहित माथिल्लो सगरमाथा सोलुखुम्बु, ओखलढुंगा र खोटाङलाई जोडने सिद्धिचरण राजमार्ग मर्मतपछि शुचारु भएको हो ।

जटिल भौगोलिक अवस्था कारण सडक मर्मत गरेर चलाउन नमिल्ने भएपछि ठाँटी भञ्ज्याङमा एलाइन्मेन्ट नै परिवर्तन गरेर नयाँ ट्रयाक खोल्नु परेको थियो । उदयपुरको कटारी–घुर्मी खण्डको कटारी नगरपालिका–११ स्थित ठाँटी भञ्ज्याङ र लप्से भिरमा पहिरोले सडक बगाएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिरोले सडकको ४०० मिटर ट्रयाक नै बगाएपछि एलाइमेन्ट नै परिवर्तन गरेर सडक बनाउँदा केही ढिलाई भएको सडक डिभिजन कार्यालय लहानका प्रमुख विनोद कुमार साहले बताए ।