पत्रकार महासंघमा विद्युतिय समस्या टर्यो

गाईघाट , साउन १६
    बिद्युत समस्यालाई मध्यनजर गर्दै त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले नेपाल पत्रकार महासंघलाई ४० हजार मुल्य बराबरको इनभटर हस्तारण गरेको छ ।
    संघको सभाहलमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष गजेन्द्रकुमार भगत लगायतको टोलीले महासंघका जिल्ला अध्यक्ष भरत खड्कालाई खरीद गरेको सामग्री हस्तान्तरण गरेका हुन् ।
    त्यसक्रममा अध्यक्ष भगतले विद्युतीय समस्यालाई सहज बनाउन महासंघलाई संस्थाको तर्फबाट सानो सहयोग गरेको बताए । स्रोतसाधनका हिसावले कमजोर रहेको महासंघलाई आफ्नो दैनिक कामकाजलाई सहज होस भन्ने हेतुले सहयोग गरेको बताए ।
    उनले आर्थिक हिसावले दुबै संस्था कमजोर भएपनि भावनात्मक र सहकार्यका लागि सहयोग गरिएको बताए । महासंघका अध्यक्ष खड्काले सरकारले लोडसेडिङ अन्त्य गरेपनि बेलामौकामा सिस्टमको समस्याले लाईन जाँदा कामकाज प्रभावित भएको बताए ।
    उनले भने, ‘कामकाजलाई छिटो र सहज बनाउन काम भईरहेको हुन्छ, विचमा झ्याप्प लाईन जाँदा समस्या कति थोपरिन्छन भनि साध्य छैन् ।’ त्यसअघि उनले थपे, ‘बरु लोडसेडिङ हुँदा लाईन जाने समय एकिन हुन्थ्यो, त्यहीँ अनुसार काम हुन्थ्यो, अहिले त कतिबेला जान्छ कतिबेला आउँछ केहि थाहा हुन्न ।’
    खड्काले लाईन समस्याकैकारण पत्रकार महासंघले एकै ठाउँबाट समाचार लेख्ने गरी प्रस्ताव गरेको ‘मिडिया सेन्टर’ योजना सञ्चालनमा ल्याउन नसकेको बताए । सामग्री उपलब्ध गराएको प्रति धन्यवाद ज्ञापन गर्दै अध्यक्ष खड्काले आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्ने बताए ।
    सोअवसरमा अध्यक्ष भगतले साउन १५ गते देखि व्यपारीका समस्यालाई मध्यनजर गर्दै कर कार्यालयमा कर सहायत कक्ष सञ्चालनको तयारी गरिएको जानकारी दिए । उनले भने, ‘नविकरण र दर्ताका लागि गएका व्यापारीले लाग्ने दस्तुरभन्दा बढि तिर्नु परेको गुनासो आएकाले सरलीकृत गर्न सहयता कक्षा सञ्चालन गरिएको हो ।’ ‘सामान्य अनलाईन फारम भर्दा ५० रुपिँयामा काम हुन्छ,’ उनले भने, ‘तर त्यहीँ फारमलाई ५ सय रुपिँया व्यापारीले तिरीरहनु परेको छ, हामी कर्मचारी राखेर ५० रुपिँयामा काम गरेर देखाउँछौ ।’
    दररेटको अभावमा जथाभावि पैसा तिर्नु परेको गुनासो गर्दै उनले भने, ‘नाफाभन्दा पनि आफ्ना सदस्यका लागि सेवाको भावनाले डेक्स स्थापना गरेका हौ ।’ २ जना कर्मचारी खटिने हेल्पडेक्सबाट कर कार्यालयबाट उपलब्ध हुने सबै सेवालाई व्यवस्थापन गरिने प्रथम उपाध्यक्ष रमेश विकले बताए । यसैगरी सोही कार्यक्रममा अध्यक्ष भगतले बजारमा विक्री हुने सामग्रीका डिलहरु स्थानीय व्यापारीलाई नै दिने गरी योजना अघि बढाइएको बताए ।