नेकपा उदयपुर इन्चार्जमा बलदेब चौधरी र सह इन्चार्जमा मन्जु चौधरी

उदयपुर , साउन ६
नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले सबै जिल्लाको इन्चार्ज र सह(इन्चार्ज टुंग्याएको छ । नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज र सह–इन्चार्ज छिनोफानो गरेको हो । ६ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जलाई कार्यसमितिकै हैसियतमा रहने गरी टुंगो लगाइएको छ । सचिवालय सदस्य वामदेव गौतमले सहमतिका आधारमा जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोकिएको बताए ।


पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज तोकिएपनि उदयपुरको हकमा दुवै पूर्व एमालेबाट इन्चार्ज र सह–इन्चार्ज तोकिएको विज्ञप्तीमा जनाईएको छ ।


तत्कालिन नेकपा एमालेका केन्द्रिय सदस्यद्वय बलदेव चौधरी इन्चार्ज र मन्जु कुमारी चौधरी सह–इन्चार्ज भएकी छिन् । बलदेव चौधरी दुई कार्यकाल पूर्व एमालेका केन्द्रिय सदस्य हुनुको साथै जिल्ला इन्चार्ज पनि हुन् । यस्तै मन्जु कुमारी चौधरी पूर्व नेकपा एमालेका केन्द्रिय सदस्य, संविधान सदस्य तथा पूर्व शहरी विकास राज्य मन्त्री पनि हुन् ।


यस अघि पूर्व माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मोहन खत्रीलाई सह–इन्चार्ज बनाउने भनेपनि अन्तिम समयमा मन्जु कुमारी चौधरी सह–इन्चार्ज बनाएको नेकपाद्वारा जारी प्रेस विज्ञप्तीमा जनाईएको छ । केही जिल्लाहरुमा दुई देखि १० जनासम्मलाई सह–इन्चार्ज बनाइएको छ ।