उदयपुरको नमन्तामा अज्ञात रोगका कारण एउटै परिवारका २ जनाको मृत्यु , अरु सबै बिरामी ।

उदयपुर , बैशाख १६

उदयपुर जिल्लाको मध्यपहाडी रौतामाई गाउँपालिका–६ को नामन्तमा एउटै वंशका दाजुभाइका मगरका घरपरिवारनै एकै प्रकारका अज्ञात रोगबाट सिकिस्त बिरामी हुँदै आएका छन् भने दुईको मृत्यु भइसकेको छ ।

पाँच वर्षदेखि शरीर काम्ने र हल्लिने हातखुट्टा झमझमाउने रोगबाट ग्रसित हुँदै आएका समाल मगर परिवारमा श्रीमान् दुर्गाबहादुर समाल मगर र श्रीमती अम्बिका समाल मगरको अज्ञात रोगको कारण मृत्यु भइसकेको स्थानीयको भनाइ छ ।

अहिले अन्य दाजुभाइ जेठा दाजु, माइला दाजु र साइला दाजुका सन्तान र तीनपुस्ते वंशभित्रका सम्पूर्ण समाल मगरमा यो अज्ञात रोग सर्दै गएपछि सबै समाल मगर परिवारनै रोगबाट ग्रसित बन्न पुगेको छ ।

पाँच वर्षभन्दा पनि लामो समयदेखि एउटै बाजे र दाजुभाइका सन्तानमा यो अज्ञात रोग देखा परेको र यसको विभिन्न स्थानमा बिरामीलाई लगेर उपचार गराउँदासमेत रोग पत्ता लगाउन नसकिएको स्थानीयको भनाइ छ ।

शुरुमा पाँच वर्षअघि घरबाट मलेसिया गएका जेठोको सन्तान दुर्गाबहादुर समाल मगरलाई यो अज्ञात रोगले भेटेको थियो । दुर्गाबहादुर मलेसियाबाट घरफर्केर आएपछि हातखुट्टा काम्ने, थर्थराउने रोगले छोएको कारण पटक–पटक राजधानी काठमाडौँलगायतका अस्पतालमा समेत उपचार गराउँदा पनि रोग पत्ता नलागेको र उपचार हुन नसकेपछि गत चैत्रमा मृत्यु भएको भिनाजु विष्णु मगरले बताए ।

सोही रोगको कारण दुर्गका श्रीमती अम्बिका समाल मगरको पनी मृत्यु भएको बताइएको छ । अहिले यो अज्ञात रोग माइलाका सन्तान बलबहादुर समाल मगर, बुहारी हीरामाया आलेमगर र उनीहरुको घर परिवारतर्फ सरेपछि दुवै समाल परिवारका नौजना सदस्य यतिखेर अज्ञात रोगको कारण सिकिस्त बिरामी परेको छ ।

यस्तै साइलाका सन्तान र छोराछोरीमा समेत यो रोग धमाधम सर्न थालेपछि अहिले दुर्गाबहादुर समाल मगरको तीनपुस्ते वंशभित्र सबैमा यो अज्ञात रोग विस्तारै सर्दै गएर प्रभावित पार्न थालेको छ ।

समाल परिवारको बिरामीलाई उपचारको लागि अहिले जिल्ला अस्पताल गाईघाट हुँदै विराटनगरका विभिन्न अस्पतालमा लगेर उपचार गराए पनि रोग पत्ता लगाउन नसकिएको र उपचारसमेत हुन नसकेपछि स्थानीवासी तथा उनीहरुका नातागोतासमेत दुःखी र अचम्मित बन्न पुगेका छन् ।

एकातिर रोग पत्ता लाग्न नसक्नु, अर्कोतर्फ उपचार पनि सफल हुन नसक्नु र दिनानुदिन सबै शाखा, सन्तान नै अज्ञात रोगको कारण पीडित बन्दै गएपछि अहिले नामन्तका समाल परिवारको वंशनै नाश हुने अवस्था आएको स्थानीय पार्वती मगरले बताइन् ।

अज्ञात रोग विस्तारै सर्दै गएर सम्पूर्ण समाल परिवारलाई प्रभावित बनाएपछि कतै यो रोग अन्यत्र छिमेकीमा पनि सर्ने हैन भन्ने डर र त्रासले आफूहरुलाई समेत सताउन थालेको नामन्तका गणेशबहादुर मगरले बताए ।