सामाजिक उत्पीडनलाई संधैका लागि समाप्त पार्न चर्को आवाज उठाउने पहिलो नेता खपाङ्गी नै थिए !

बहुयामिक  व्यक्तित्व  गोरे बहादुर खपाङ्गीको  एक चर्चा  !
त्रिलोक सिंह थापा मगर
प्रारम्भ :

बहुप्रतिभाशाली गोरे बहादुर खपाङ्गी मगर सम्पूर्ण मगर समुदाय, आदिवासी जनजाति एंव सिङ्गो नेपाल राष्ट्रका राष्ट्रिस्तरका जननेता थिए ।
मेची देखि महाकाली सम्म उनि लोकप्रिय तथा जनप्रिय थिए । क्षमतावान, आटीला, साहसी, पौरखी, कर्मनिष्ट, कुशाग्र बुद्धि भएका योग्य प्रशासक, सामाजिक तथा राजनीतिक नेता र अभियन्ता थिए । अत्यन्त प्रभावकारी व्यक्तित्व तथा प्रभावशाली वक्ता थिए । नेपाली समाजमा सदियौ देखि व्याप्त रहेको सामाजिक एवं जातीय भेदभाव, एकतावादी सोच, एकलवादी जातीय थिचो मिचो, हाली मुहाली, सामाजिक र आर्थिक शोषणको विरुद्ध जीवनको प्रारम्भ देखि अन्त सम्म प्रतिकार गर्दै निरन्तर संघर्ष गर्दै आएका थिए ।

जातीय उत्पडिन :
त्यस वेला नेपालमा जातीय उत्पडिनको विरुद्ध तथा विरोधमा बोल्न र मुख खोलन सक्ने हिम्मत तथा साहस कुनै पनि  राजनीतिक एंव सामाजिक नेताको हुदैन थियो । सामाजिक एंव राजनीतिक मंच वाट जातीय विभेद र सामाजिक उत्पीडनलाई संधैका लागि समाप्त पार्न चर्काे स्वरमा आवाज उठाउने पहिलो नेता खपाङ्गी नै थिए ।

नेपाली समाजमा युगौ देखि दमनमा पारिएका, थिचिएका, तथा शोषित आदिवासी पीडित भूमिपुत्र जनजातिलाइ निद्राको अवस्था वाट जागरुक वनाउन, घचघचाउन, तथा दासता बाट उनमुक्तिका बाटोमा डोराउन उहाँले अग्रणी भूमिका खेलेका थिए । सदियौ देखि राज्यसत्तामा आधिपत्य एंव एकाधिकार राख्दै आएका शासक एंव प्रशासक हरुका विरुद्ध संघर्ष तथा प्रतिकार गर्नका लागि संरचना बनाउने संञ्जालका रचियता थिए । जातीय उत्पीडनको विरुद्ध आन्दोलनको प्रारुप तयार गर्ने पहिलो नेता पनि उनि नै थिए ।  उनले नेत्तत्व गरेका अन्दोलन क्रान्तीकारी होइन प्रजातान्त्रिक थियो । उनले शुरु गरेको संघर्ष साम्प्रादायिक होइन सामाजिक परिवर्तन थियो । उनले उठाएको विद्रोह उत्पीडित गर्ने वर्गमा सोच एंव बिचार धारामा परिवर्तन ल्याउनु थियो । उनको विरोध हिंसात्मक होइन शान्तिप्रिय थियो । उग्रवादी दृष्टिकोण होइन मानसिक परिवर्तन थियो ।

जीवनको गतिविधी :
गोरे बहादुर खपाङ्गी मगर आफ्नो उपरोक्त लक्ष्य एवं धारणका लागि जीवन भरि सामाजिक तथा राजनैतिकअभियन्ताको रुपमा निरन्तर लागि राख्नु भएको थियो । उन्को छोटो जीवनमा धेरै उतार चढाव आयो । उनि कहिले उकालो त कहिलो ओरालो लागे । तै पनि आफ्नो निर्धारित लक्ष्य प्राप्तिका लागि सदैव अडिग र प्रतिबद्ध रहे । कहिले पनि र कुनै समयमा पनि उनको जीवनमा बिचलन, बिराम, बिश्राम र थकानले बाटो छेक्न सकेन । त्यसैले होला अमेरिका साउथ एशियन युनिर्वस्टीका विद्वान प्राध्यापक लउर एम हेरनले आफ्नो अनुशन्धान पत्रमा यसरी उल्लेख गरेका थिए "A blessed orator and charsmeatic leaders Gore Bahadur Khapangi (who) led peaceful movement for social change in the himalayan countires of Nepal (2001)". ।

बाल्य काल्य :
गोरे बहादुर खपाङ्गी मगरको जन्म वि.स २००३ साल फागुन २५ गते आमा स्वर्गिय पदम माया खपाङ्गी मगर बुबा स्वर्गिय अमृत बहादुर खपाङ्गी मगरको दोश्रो सन्तानको रुपमा उदयपुर जिल्लाको थाक्ले, दमै डाँडामा जक्लेनी भन्ने ठाउँमा भएको हो । २ बर्ष नपुग्दै बाबाको मृत्यु पश्चात महोत्तरी जिल्लाको रामनगर गा.वि.स. वडा नं. ३ मा बसाई सराई गर्नु भएको थियो ।

शिक्षाः
रामनगरको बकैना ,पीपलगांछी भन्ने ठाउंमा ठुलो पिपलको बुंटा मुनि भुखमलाल कर्ण बाट उहांले प्रारम्भिक शिक्षा लिनु भएको हो । महोत्तरी जिल्लाको गौशाला स्थित श्री त्रिभुवन माध्यामिक विद्यालय वाट वि.सं. २०२० सालमा एस.एल.सी (मैट्रिक) उतीर्ण गर्नु भयो । त्यस पछि रामसागर बहुमुखी क्याम्पस जनकपुर बाट प्रवेशिका प्रमाण तह (बी.ए) पास गर्नु भयो । त्रिभुवन विश्वविद्यालय बाट शिक्षा शास्त्रको अंग्रेजी साहित्यमा स्नातकोत्तर उतीर्ण गर्नु भयो ।

व्यवसाय :
औपचारिक शिक्षा समाप्त भए पछि जीविका उपार्जनका लागि नेपाल सरकारको अर्धसरकारी सस्थानमा नेपाल सुर्ती कम्पनीमा अधिकृत स्तरमा जागिरे हुनु भयो । सो कम्पनीको काम मुख्यतः किसानहरुबाट सुर्ती संकलन गर्ने, विक्री गर्ने, सो वापत नाफा तथा कमिशन लिने दिने थियो । यस प्रकार व्यापारी संस्थामा बुद्धिजिवी खपाङ्गीको अभिरुची नहुन स्वाभाविक नै थियो । कारण विद्यार्थी जीवन कालमा उनी माथि माक्र्सवाद र लेनिन वादको सैदान्तिक छाप परि सकेको थियो । क्रय विक्रय कमीशन तथा नाफा खाने खुवाउने सस्ंथानमा उनि कसरी टिक्न सक्थे र फलतः केही समय पछि सो पदवाट स्वेंच्छाले राजीनामा गरे ।
जिविका चलाउनका लागि केही न केही व्यवसाय गर्नु पर्नै थियो । वि.सं. २०२९ सालमा रामेछाप जिल्लाको सदरमुकाममा अवस्थित गौरी शंङकर माध्यामिक विद्यालयमा प्रधानअध्यापक पदमा नियुक्ती पाउनु भयो । त्यस बेला मगर जनजातिका व्यक्ति पनि प्रधानअध्यापक हुन सक्छ ? र भनेर कतिपय स्थानिय मगरहरु उनिलाई हेर्न आएका थिए ।

राजनीतिक जीवन :
गोरे बहादुर खपाङ्गी मगरले नेपाली समाजमा विद्यमान रहेको आर्थिक विभेदको अनुभव गरि सकेका थिए । किसान, श्रमिक र गरीव वर्ण माथि केही मुठ्ठी भर सामन्ती जमिन्दार र ठालूहरुको चरम आर्थिक शोषणा, मानसिक र शारारिक अत्याचार लाई उहाँले प्रत्यक्ष रुपमा देखेका थिए । आफै महशुस गरेका थिए । एउटा वर्ग दिन प्रतिदिन सप्रिदै जाने र अर्काे वर्ग दिन प्रतिदिन पिल्सिदै जाने तथा थिचिदै जाने देखेर उनि ज्यादै विचलित थिए । जमीनदार र बुर्जवा वर्गको विरुद्ध बहुसङंख्यक मिहेनती जनताको पक्षमा गरिने अन्दोलन नै वर्गिय मुक्ति को आन्दोल हो भनेर खपाङ्गी वाम पन्थी बिचार धारा संग निकट भै सकेका थिए । उनि विद्यार्थी जीवनमा वामपन्थी विचारधाराका वामपन्थी सगंठन अखिल नेपाल विद्यार्थी संगठनमा सक्रिय सदस्य पनि भई सकेका थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन :
मुलुक भरका शिक्षकहरुको साझा संस्थाको रुपमा राष्ट्रिय शिक्षक संङगठनको स्थापना गर्न खपाङ्गी सक्रिय थिए । वि.सं. २०३६ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको स्थापना गर्दै त्यस संस्थाको केन्द्रीय समितिको संस्थापक सदस्यमा चयन हुनु  भयो । त्यस पछि जनमत सङग्रहको (२०३६) समयमा रामेछाप र दोलखा जिल्लामा अध्यापनरत शिक्षकहरु लाई सङगठित गर्दै बहुदलीय व्यवस्थाको पक्षमा प्रचार गर्दै हिड्नु भयो । यसै अवधिमा खपाङ्गी लोकप्रिय वामपन्थी नेता भइ सक्नु भएको थियो । तत्कालीन सरकार र राज्य उनि संग अत्यन्त आक्रोशित थियो । बिना कुनै अपराध र आधारमा उनलाई विद्यायलयको परिसरबाट हतकडी लगाएर गिरफ्तार गरियो । लगभग १४ महिना सम्म जेलमा अत्यन्त कष्टपूर्ण र अपमान जनक जीवन बिताउनु भयो ।


आम निर्वाचन (२०४३)
जेलको कष्टमय जीवन पश्चात वि.सं. २०४३ सालमा राष्ट्रिय पंचायत का लागि सम्पन्न भएको आमनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माले) को तर्फ वाट खपाङ्गी उम्मेदवार हुनु भयो । पंचायती निर्वाचनमा उम्मेदवार लाई जिताउन तथा हराउनका लागि राज्यका प्रशासनिक अंग नै संलग्न हुने गरेको थियो । त्यस बेला खपाङ्गी राज्यको आखाँको कसिंगर थिए । उनी उक्त निर्वाचनमा पराजित हुन भयो । तत्पश्चात उनि फर्केर विद्यालय जानु भएन । नेपाल कम्युनिष्ट पार्टी को सक्रिय कार्यकर्ता भएर पार्टी संगठन विस्तार तथा वामपन्थी बिचारधाराको प्रचारमा लाग्नु भयो । उहाँको राजनीतिक जीवनको कथा यसरी नै शुरु भएको तथा विकसित भएको देखिन्छ ।

राजनीतिक दलमा जातीय विभेद :
नेपाली जनताले वि.सं. २००७ सालमा प्रजातन्त्रको प्राप्तीको लागि राणाहरुको एकतन्त्री शासन बाट मुक्ति पाउन सशस्त्र क्रान्ती गरेका थिए । सो क्रान्तीमा अनगनित आदिवासी जनजातीका कर्मठ कायकर्ताको रगत बगेको थियो । वि.सं. २००७ सालमा प्रजातन्त्र प्राप्त भए पछि सक्तामा आफ्नो वर्चस्व कायम राख्न तथा एकाधिकार स्थापित गर्न क्षेत्री तथा वाहुनहरुको बीच हानथाप शुरु भएको देखिन्छ । जे सुकै कारण तर्क तथा व्याख्या गरेता पनि क्षेत्री राजाले आफ्नो सक्ता सुरक्षित राख्न बाहुनले नेतृत्व गरेको बुहदलिय प्रजातन्त्रलाई समाप्त पार्न सफल भए । तत्पश्चात एक दलिय पंचायत व्यवस्थ लागु गरे । जुन २०६४ सालको जनआन्दोलन बाट समाप्त हुन गयो ।
नेपाल कम्युनिष्ट पार्टी (माले)
नेपालमा विद्यमान वर्गिय विभेद र शोषणलाई जडै देखि समाप्त पार्न वि.सं. २००६ सालमा ५ जना नेवार समुदायका सदस्यहरुले मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । स्थापनाको २ वर्ष पछि २००८ साल असोज महिनामा कलकत्तामा सम्पन्न भएको नेकपाको पहिलो सम्मेलन मा १४ सदस्यीय केन्द्रिय समीति गठन भयो । त्यसमा ५० प्रतिशत बाहुन, २१ प्रतिशत क्षत्री ठकुरी, १४ प्रतिशत नेवारको ७.१४ प्रतिशत मुसलमानको सहभागिता थियो । वि.सं. २०१० सालमा सम्पन्न दोश्रो महाधिवेशनमा ४७.०५ प्रतिशत बाहुन, २३.५२ प्रतिशत क्षत्री ठकुरी २३.५२ प्रतिशत नेवार ५.८८ प्रतिशत मुसलमान समावेश थिए । वि.स.. २०१४ सालको महाधिवेशनमा २९.४१ प्रतिशत वाहुन ४१.१७ प्रतिशत क्षत्री ठकुरी २३.५२ प्रतिशत नेवार र ५.८८ प्रतिशत मुसलमान थिए ।

पहिचान :
गोरे बहादुर खपाङ्गी मुख्यताः जातीय पहिचानको वकालत गर्नु हुन्थ्यो । उनि प्रायः भन्नु हुन्थ्यो । स्वदेश विदेश जुन सुकै ठाउँमा मगर जनजातीको वसोवास गरेको होस उस्को धर्म, पहिरन, खानपीन र स्वभाव आदिमा समय र ठाउँ अनुसार परिवर्तन हुन सक्छ तर उस्को जातीय पहिचानमा परिवर्तन हुन सक्दैन” । उनी संधै भन्नु हुन्थ्यो “विसौ शताब्दी त गुम्यो तर २१ औ शताब्दीमा “सिंह दरवार”मा मगर जनजातीको आधिपत्य हुनु पर्छ ।” खपाङ्गीको उक्त उद्घोषणहरु ले उत्पीडित मगर युवाहरु लाई उत्प्रेरणा दिन गरेको छ ।
 
खपाङ्गीले आफ्नो छोटो अवधिको राजनीतिक अभ्यासमा आदिवासी जगजाति तथा दलित युवाहरुलाई आफ्नो राजनीतिक हक अधिकार माग्न सिखायौँ । भाषा, संस्कृति, परम्परा, रीतिथिती तथा जातीय इतिहासको संरक्षण, सम्वर्धन र विकास गर्न सिखायौँ । जातीय पहिचानका विरोध गर्ने राजनीतिक नेताहरुले पनि खपाङ्गीको उक्त योगदानलाई स्वीकार गर्दछन् ।  सन् १९७० सालमा रुपमा नेता लेलिनले भन्नु भएको थियो “ जातीय प्रश्न लाई बुर्जर्वा हरुले जस्तै गफको रुपमा होइन, सर्वहारा वर्गको संघर्षको हितको मातहत उठाउनु पर्दछ ।”

सामाजिक नेताः
गोरे बहादुर खपाङ्गी मगरको व्यक्तित्वको आर्काे पाटो थियो सामाजिक नेतृत्व र सामाजिक नेता । उनी सम्पूर्ण आदिवासी जनजाती तथा मगर जनजातीका सामाजिक अभियन्त थिए । आफ्नो अन्र्तवार्ताको क्रममा भन्नु भयो को थिए “मलाई लाग्दछ जनजाती भन्नुको अर्थ उनीहरु सामाजिक रुपले पछि परेका छन् । त्यस्तो गर्दा उनिहरु लाई सामाजिक रुपले मुक्त कसरी गर्ने त्यो ठोस कार्यक्रम सरकारले ल्याउनु पर्छ । (छापामा जातीय आन्दोलन पृष्ठ ३४० वि.सं. २०६०) सोही अन्र्तवार्तामा अगाडी भन्नु हुन्छ”

सर्व प्रथम जनजाती लाई योग्य बनाउनु प¥यो । उनीहरुलाई सामाजिक दासता, धार्मिक दासता, समग्रमा मानसिक दासता, बाट मुक्त नगराइकन सरकार को जुनसुकै कार्यक्रममा पनि जनजातीको सहभागिता हुन बहुत गा¥हो हुन्छ ।” ( छापामा जातीय अन्दोलन पृष्ड ३४० वि.सं. २०६०)

नेपाल मगर संघ :
आफ्नो उपरोक्त सामाजिक धारणा बाट प्रेरित भएर खपाङ्गीले नेपाल मगर संघमा वि.सं. २०३६ सालमा सम्भवतः प्रवेश गरे । मगर इतिहासकार नरु थापा मगरले आफ्नो पुस्तक“किरात मगर इतिहास” (२०६७) पाना ७८ मा पहिलो पटक मगरहरुको सामाजिक संस्था मगर सुधार संघ २०१२ बैशाख २६ गते काठमाण्डौ नरदेवीमा स्थापना भएको थियो भनेर उल्लेख गर्नु भएको छ ।

मगर समाज सुधार संघको परिवर्तित नाम नेपाली लंधाली परिवार संघको २०३९ साल फागुन १५–१६ गते हेटौडामा दोश्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको थियो । सो संघको केन्द्रंीय समितिको सदस्य पदमा खपाङ्गी पनि सदस्य चयन हुनु भयो । नेपाली लंघाली परिवारको चौथो अधिवेशन २०४८ सालमा काठमाण्डौमा सम्पन्न भयो । सो नेपाली लांधाली परिवारको महाधिवेशन मा  गोरे बहादुर खपाङ्गी मगर अध्यक्ष पदमा निर्वाचित हुन भयो । वि.सं. २०४८ देखि २०५९ साल सम्म सो संघ को अध्यक्ष पदको कार्यभार अनवरत रुपमा सम्हाल्नु भयो । उहाँको कार्यकालका केही महत्वपूर्ण उपलब्धीहरु यस प्रकार उल्लेख गर्न सकिन्छ ।
१) नेपाल लांघाली परिवार को व्यापकता वढाउन, विस्तार गर्न तथा सबै मगरहरु लाई समेट्न सो नाम परिवर्त गरि “नेपाल मगर संघ” नामाकरण गरियो ।
२) वि.सं. २०३८ सालमा नेपाल लंघाली परिवार संघको शाखाहरु केवल २२ जिल्लाहरुमा मात्र समिति थियो । सो विस्तार गरेर ६५ वटा जिल्लामा नेपाल मगर संघको शाखाहरु गठन भयो ।
३) मगर जनजाती संग सम्वन्धीत संघ संस्था मातृ संगठन, प्रोफेशनल संगठन संस्थाहरु गठन गरियो । सौ प्रवासमा पनि नेपाल मगर संघका शाखा  इकाई र भातृ संगठन खोल्न मगर समुदाय लाई प्रेरित गरियो । फलस्वरुप विश्व भरि आज मगर संघको विशाल संञजाल स्थापित भएको छ ।
४) प्रथम सहिद कप्तान लखन थापा मगर लाई सर्व सम्मतीवाट केन्द्रीय कार्य समितिले नेपालको प्रथम शहीद घोषणा गरे । तत्पश्चात कप्तान लखन थापालाई प्रथम सहिद घोषणा गर्न नेपाल मगर संघले राज्य माथि दवाव दिन शुरु गरे । फलस्वरुप राज्यले विधिवत उनलाई नेपालको  प्रथम सहिद हुन् भनेर घोषणा गरे ।
५. वि.सं. २०४९ सालको नेपाल मगर संघ लाई काठमाण्डौ जिल्ला कार्यालयमा विधिवत दर्ता गरियो यसरी नेपाल मगर संघको सरकारी औपचारिकता र कानूनी प्रवधान प्राप्त ग¥यो ।
६) मगरहरुको जातीय धर्म वौद्ध धर्म हो भनेर सर्व सम्मति वाट प्रस्ताव पारित गरियो । जातीय पहिचान का लागि मगरहरुको नामको पछाडी “मगर” शब्द लेख्ने अभियान लाई तीव्रता प्रदान गरियो ।
७) मगर समाजमा युगौ देखि व्याप्त सामाजिक कुरीतिहरु, अन्धविश्वास, कुप्रथा आदि त्याग्न, शिक्षा एंव उच्चशिक्षामा मगर विद्यार्थीहरुलाई अध्ययन गर्न उत्प्रेरित गर्न तथा मगर महिलाहरुमा शसक्तीकरणको अभियान लाई तीव्रता दिने प्रयास गरियो ।
८) सरकारी संयन्त्रहरुमा तथा शिक्षा क्षेत्रमा आदिवासी जनजाती तथा पिछडिएका समुदायमा प्रतिभाहरुलाई आरक्षण, समावेशी, तथा कोटा प्रणालीको प्रवधानको व्यवस्था गर्न पहल गरियो ।
९) नेपाल आदिवासी जनजाती महासंघ तथा आदिवासी जनजाती प्रतिष्ठान को स्थापना गर्नका लागि पनि खपाङ्गीको पहल उल्लेखनिय रहेको छ । आज दुवै संस्था आदिवासी जनजातीको उत्थान कार्यमा कार्यरत छन् ।

स्वर्गारोहण :
नेपालमा जनमुक्ति बिचार धारा र दर्शनका प्रर्वतक, मगर जनजाति, आदिवासी जनजाती तथा सिङ्गो नेपालीहरुको राष्ट्रिय स्तरमा जननेताको असमायिक स्वर्गारोहण २०७३ साल भाद्र १२ गतेमा भयो । सारा नेपाली तथा आदिवासी जनजातीहरु दुःखी र शोकाकुल भए । आफ्नो अभिभावक सरंक्षण र नेता विहीन भए । राज्यवाट पनि अन्तिम सम्मान प्रदान गरियो ।

वैचारिक विस्तार:
गोरे बहादुर खपाङ्गीको पार्थिव शरिर यस भौतिक संसारमा रहेन । तै पनि उनको राजनीतिक र सामाजिक दर्शन तथा बिचार धाराको प्रवाहमा कुनै किसिमका रोकावट र शिथिलता देखिदैन । जनमानसमा अझ वढी उत्तधारणको विस्तृतीकरण एवं विस्तार देखिएको छ । उनले प्रतिपादित गरेका सिद्धान्त आदिवासी जनजातिका युवा वर्गका लागि प्रेरणा बन्न गएको छ ।  कतिपय  विद्वन बुद्धिजीवी व्राम्हण  र क्षेत्रीहरु पनि जनजातीय पहिचानका वकालत गर्न थालेका छन् । पुस्तक प्रकाशन वा लेख उनीहरुबाट प्रकाशित गरेको पाइन्छ ।

त्यसै लागि प्रध्यापक हरेन  लेख्नु हुन्छ " He was towering figure of the indiginious peoples movemetn in Nepal. Today his influence can be felt among the ethenic communities of north east India and Buhtan also." (एै)

खपाङ्गी फाउन्डेशन (२०७३ असार ५ गते)

विगतको ऐतीहासिक तथ्यहरुले प्रमाणित गरि सकेको छ सदियौ देखि ठूलो जनसंख्यााम रहेका आदिवासी जनजाती, दलित, मधेशी तथा सीमान्कृत जनजाती माथि राज्य सक्तामा उत्पिडिन एवं शोषण गर्दै आएको छ । तसर्थ जातीय समस्या समाधान सामान्य ढंगले गर्न सकिदैन । साम्प्रादायिक पहल हो भनेर राज्य भाग्न मिल्दैन र सक्दैन । त्यसै लागि समय समयमा खपाङ्गी भन्नु हुन्थ्यो “ जव सम्म उत्पीडित जातिको राज्य सक्तामा साझेदारी हुन्न तबसम्म जातीय समस्याको समाधान हुदैन ।” अतः गोरे बहादुर फाउण्डेशन ले निम्न लिखित कुरामा जोड दिनु पर्दछ ।
क) शिक्षा तथा उच्च शिक्षा को विस्तारका लागि सके सम्म मगर विद्यार्थीहरुलाई छात्रावृत्रि उपलब्ध गराउने ।
ख)  प्रशासनिक, प्राविधिक, व्यवस्थापन र नेतृत्व विकास का तालीम संचालन गर्ने
ग)  गोरे बहादुर खपाङ्गी को वहुयामिक व्यक्तित्व माथी अन्र्तक्रिया गर्ने ।
घ)  मगर जनजाति, आदिवासी, तथा जातीय समस्या माथि पुस्तक, पुस्तिका पकाशन गर्ने गराउने ।
ङ) राज्यको निर्णय प्रक्रियामा सबै जात, जनजाति समूहको सहभागिता र सहकार्य गराउन तथा लैगिक, जातीय, तथा क्षेत्रिय हिसाबले राजनीतीलाई समावेशी बनाउन खपाङ्गी फाउन्डेशनले बौद्धिक अन्र्तक्रिया संचालन गर्न गराउन सक्दछ ।
च) खपाङ्गीको प्रत्यक्ष अप्रत्यक्ष पहलले गर्दा नेपाली राजनीतिमा “सामानुपातिक” तथा “संमावेशी” यी दुईवटा शब्दको प्रयोग हुनु पनि परिवर्तनको उपलब्धी मान्न सकिन्छ । यसै क्रममा नेपाली राजनीतिमा पहिचान वादी धारा पनि सशक्तरुपमा उदाएको देखिन्छ । खपाङ्गीको नेतृत्व वि.स. २०६९ सालमा स्थापित “लिबरल डेमोक्रेसी पार्टीले पहिचावादि राजनीतिक पार्टीहरुका बीच समन्वय, सम्पर्क एंव एकीकरणका लागि आवश्यक भूमिका खेल्न सक्दछ ।
छ)  खपाङ्गी फाउन्डेशनले सैद्धान्तिक एंव दार्शनिक आधारहरु उक्त पहिचानवादी राजनीतिका लागि तयार पार्न सक्दछ । खपाङ्गीले भन्नु हुन्थ्यो “कलम चलाउन हुने महानुभावहरुले यस्को साङ्गो पाङ्गो कार्य छुन्, केलाउनु, अध्ययन गर्नु आफ्नो धर्म मान्दा अत्युक्ति नहोला” , एक जना विद्वानको भनाई छ“आफ्नो  इतिहास उत्पत्ति र सस्कृति वारे जानकारी नहुने व्यक्ति जडो विनाको रुख जस्तै हो ।”
निषकर्श :
राज्य सक्ताले (जे जस्तो) आदिवासी जनजाति समुदाय, मधेशी र दलित माथि ऐतीहासिक सामाजिक उत्पीडन, विभेद, थिचोमिचो शोषणा र अन्याय गरेको छ । तै पनि जनस्तरमा सदियो देखि विभिन्न समुदाय, जातजाति, वर्ग वर्ण र जातीय समुहमा आ आपसमा अत्यन्त सामजस्य, सदभाव, सहकार्य, सहयोग, समन्वय सनिकटता, समीपता, समुधर सम्बन्ध, मिलन, एवं मेलमिलाप हुनु नै नेपाली समाजको विशिष्ठता हो । जुन दक्षिण एशिया मुलुकहरु सामान्यतः देख्न सुन्न पाइदैन

(८२ बर्षे लेखक मास्टर मित्रसेन थापा मगर प्रतिष्ठानका अध्यक्ष तथा राजनीतिक बिश्लेशक हुनुहुन्छ )।



हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]