मैंले भोगेको कोरिया अनुभूति

शकुन आँसु


वसन्त ऋतु, रुखका पातहरु झरिसकेर पलाउँदै गरेको सुनौलो मौसममा सुनौलै सपना मनको झोलाभरि खाँदेर आएकी हुँ कोरिया शहर । २०१३ बैसाख ३० गते एकाबिहानै आमालाई रुवाउँदै गर्दा लागेथ्यो मैले पहिलो पटक मातृस्नेह माथि ढुङगा हान्दैछु, लात बजार्दैछु । त्यो बेला न आमाको आँसु पुछेर सँगै बस्न सकेँ न शान्तले खुकुलो भएर पाइला अगाडि चाल्न नै । जिन्दगीको सबसे ज्यादा कष्ट हुँदो हो त त्यो पल थियो मेरो लागि मैले भोगेको मध्ये ।
जीवन उक्लदो क्रममा आउने हरतरह उतार, चढाव नै जिन्दगीको सफलता हो सायद । र त्यो उतार, चढाव भित्रको फरक तरङगमाथि तैरिरहेको फरक अनुभव थियो मेरो लागि त्यो पल, जतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र प्रवेश गर्दैथिएँ पुग्नु थियो दक्षिण कोरिया । डोमेस्टिक हवाईयात्रासम्म नगरेकी मैले एकैचोटी अन्र्तरास्ट्रिय विमान चढ्दैथिएँ । तेसो त म जस्ता कैयौं साथीहरु थिए, औसतमा मैले जति धेरै गाडी सवार पनि नगरेका साथीहरु । म सँगै एकजना साथी हुनुहुन्थ्यो, एयरपोर्टमै भक्कानिएर रुन थाल्नुभयो, उहाँको श्रीमान पनि आँखा भरिभराउ पार्दै किनारामा उभिरहनुभयो । हामी आफ्नो हातको काजजात देखाउँदै प्रवेश गर्यौं । भित्रतिर झ्यालको सिसामा मधुर देखियो मलाई छोड्न आउनुभएको  दिदी र भाइले हात हल्लाउँदै गरेको धुमिल छाँया ।
मध्यान्हको चर्को घाम, नीलो रङमा खुलेको स्वच्छ आकाशको आनन्दमयी यात्रा जब सुरु भयो, केहिदिन  अगाडिदेखिको  भारी मन एकैचोटी बिसाएजस्तै भयो । मनमनै आमासँग माफी मागेँ । आमाकै ज्यादा खुसीको लागि म यो यात्रा तय गर्दैथिएँ । छेउको साथीलाई हेरेँ आँसुहरुबिच चिम्म थिए आँखा । वरिवरि नियालेँ प्राय सबैजना अगाडि स्क्रिन टिभी हेरिरहेका थिए । म भने फेरि सिसा बन्द झ्यालबाहिर हेर्न थालेँ । बादललाई तल तल पार्दै जहाज निक्कै माथि पुगिसकेको थियो । आफै रोमाञ्चित बन्दै यात्राको मज्जा लुटिरहेँ त्यो मेरो लागि नामेट पल थियो एकदमै नामेट ।
मध्यरातमा अवतरण भयौँ ईन्छन विमानस्थल तर बाताबरण झकिझकाउ । आ(आफ्नो झोला सम्हाल्दै चेकजाँच गर्दै पुग्यौँ गाडीको नजिक र फेरि गाडि चढेर हुईँकियौँ । कता हो भन्ने भेउ थिएन यत्ती जान्दथ्यौँ अब हामी कोरियाको भूगोलमाथि गुडिरहेका थियौँ । बत्तिहरुको शहर झिलिमिली कति थियो भन्ने कुरा शब्दले वर्णन गर्न सकिन्न । अँध्यारो देशका नागरिक हामीहरुलाई रातभरि उज्यालोमा हिँड्न पाउनु सौभाग्यको कुरा थियो त्यो मानेमा हामी भाग्यमानी थियौँ ।
ग्रुपमा हामी केटीहरु तीनजना मात्रै थियौँ, बाँकी सबै केटा साथीहरु थिए । करिब  दुई घण्टाको रफ्तारपछि रोकियो गाडी भटाभट ओर्लियौँ, आफु भन्दा ठूलो लगेज घसार्दै निर्देशित कोठातर्फ लाग्यौँ । जहाँ तीनदिन तालिम लिनुपथ्र्यो र मात्रै काम गर्न कम्पनी जानुपथ्र्यो । सिँढी उक्लने ठाउँमै एकजना कोरियन केटी नमस्कार भन्दै  हामीलाई स्वागत गर्यो, छक्क पर्यौं उसले नेपाली बोलेको सुनेर । अचम्म रोमाञ्चित बन्दै त्यहाँ बसिञ्जेल अपनाउनुपर्ने नियमहरु सुन्यौँ र कोठातर्फ हानियौँ । भोलिपल्ट सबेरै तयार भएर मेडिकल गरेर खाना खान गयौँ । सिक्दाङको (होटेल) नजिक के पुगेथ्यौँ, डुङडुङती गन्हाउन थाल्यो खाना जुन हामीले खानु थियो । कोरिया आउने रहर पालेदेखि कोरियाको बारेमा सामान्य जानकारी त लिएकै हो यद्यपी खानाको बारेमा पनि, तर बास्ना यति नमिठो  हुन्छ भन्नेकुरा कल्पना गरेको  थिईन । फेरि अचम्मचकित त्यो त सुरुवात मात्रै थियो । बिरामीले बाँच्नको लागि जवरजस्ती माड निले झैँ खाना खायौँ बाँच्नुको लोभले ।
तीनदिनको तालिम सकाएर लाग्यौँ आ(आफ्नो कर्मक्षेत्रतिर अर्थात् कम्पनीतिर । आफुले निवेदन हालेका कामदार लिन साहुहरु लहरै आए । म र एकजना साथी सँगै हिँड्यौँ किनकी हामी एकै साहुका कामदार थियौँ । गाडी त चढ्यौँ तर रमाईलो लागेन । झन् डर, त्रासले मनमा ढ्याङग्रो ठोकिरह्यो । उनीहरु दुईजना थिए । एकजना ६० बर्षजस्तो र अर्को ३५ बर्षजस्तो कुन साहु हो ? पत्तै पाएनौं । करिव ३ घण्टा पछि खाना खानको लागि गाडी रोकियो । तर हामीले खाएनौँ ट्वाईलेट गएर फेरि गाडीमै बस्यौँ हतार(हतार नेपालतिरजस्तो गाडीले छोड्छ कि भन्ने डरले । एकछिनपछि उनिहरु पाङ (पाउरोटी) लिएर आए, हाम्रो लागि ।
मीठो रैछ झन्डै आधा सकायौँ प्याकेट पनि ठुलै थियो । र फेरि दौडियो गाडी । पहाड पहाड बिच बसेको बस्ती स(सानो बस्तीमा अग्लोअग्लो आर्टिफिसियल जस्तो रहरलाग्दो गगनचुम्बी अपार्टमेन्ट । साथी र म आँखा तन्काउँदै, मुख डोलाउँदै बाफ्रे को संकेत गरागर गथ्र्यौं ।
साँझ ४ बजेको वरिपरि हुँदो हो, गाडीले गन्तव्य भेट्यो । थकित यात्रीले चौतारी भेटे जसरी थचक्क बस्यो गाडी फाँट बारीहरूको बीचमा । कोरिया टेकेदेखिको झिलिमिली, रमाईलोको अन्तिम गन्तव्य यहिँसम्म थियो ताकि अब त्यहिँ बारीमा प्रभात उदाउनु थियो, साँझ डुब्नु थियो ।
एउटा सानो घर । पकाउने, नुहाउने, सुत्ने सब भित्रै छ । ट्वाईलेट बाहिर अलि पर । वरिपरि बारीहरु छन् धेरैजसो टनेल । अनि पारीपट्टि जङगलको पहाड । पातलो बस्ती, मान्छेहरुको चहलपहल शून्य । लाग्छ बस्तीमा हल्ला गर्ने केटाकेटीहरु शहरमा बस्छन् र यहाँ चुपचाप जीवनको हिसाबकिताब गर्ने बृद्दबृद्दाहरु मात्रै छन् । कोठामा भएको चिजहरु पकाएर खायौँ र सुत्यौँ थकानले होला म निदाएँ साथी भने रातभरि रोएर कटायो ।
भोलिपल्ट बिहानै हल्ला गर्दै उहि ६० बर्षे बूढो आयो । जाराकजुरुक उठ्यौँ । घरमा आमाले उठाउँदा के उठ्थ्यौँ तेसरी ? यो घर थिएन । अब पक्का भयो यो नै हाम्रो साहु हो । काममा जानलाई तयार भयौँ तर आज काम नगर भोलिबाट गर भन्दै कुमका धाप मार्र्यो । माया गरेजस्तै लाग्यो फुर्कियौँ हामी । मोबाईल, ल्यापटप, ईन्टरनेट, टेलिभिजन कै थिएन कोठामा, साथमा । मनोरञ्जनको नाममा पुरानो रेडियो बज्थ्यो के भाषा बुझ्नु र? समय चैँ थाहा हुन्थ्यो कमसेकम रेडियो नेपाल जस्तै हरेक घण्टा सुचित गथ्र्यो । भोलिदेखि काम गर्न थाल्यौँ, त्यहि सुरुको एक दिन थियो होला निश्चिन्त काम गरेको त्यो साँझबाटै नानाथरी तर्कनाहरुको उथलपुथल हुन थाल्यो जब कोरियाको काम सुरु भयो ।
स्कुलतिर खासै नपढेपनि प्लस २ बाट पढ्नमा ध्यान दिन थालेँ । जतिबेला मैले एस.एल.सी. दिएँ त्यहि समय बाबालाई पनि गुमाएँ । उहाँ आफै पनि शिक्षक हुनुहुन्थ्यो र छोराछोरीलाई पढाउनको लागि जति नै गाह्रो अवस्था भएपनि जहिल्यै तत्पर हुनुहुन्थ्यो छोराछोरीको भविष्यको लागि तर त्येति तत्पर पढ्नमा छोराछोरी भैदिएनौँ यो दुखको कुरा । पहाडमा जन्मेकी म, तराईमा बसेर  पढ्दापढ्दै हान्निएँ काठमाडौं । यो पनि सपना नै थियो होला सायद, केही बाध्यताहरु बाहेक । काठमाडौं बस्दाबस्दै कोरियाको बतासले छोयो, जसरि जतिबेला सारा नेपाली युवालाई छोएको थियो र अझैसम्म पनि छोईरहेको छ । गाउँका थुप्रै दाजुभाइहरु थिए कोरियामा र अरु थुप्रै पढ्दैहुनुन्थ्यो पनि । त्यसैले मलाई पनि आफ्नैहरुले उत्प्रेरित गर्नुभए पछि हौसिएर भाषा पढ्न थालेँ । भाग्यले अलिअलि साथ दिएछ भनौँ, कृषि मै भएपनि नाम निस्कियो, कोरिया आउन पाईयो ।
यो खुसि बाँडिरहँदा मेरी प्रिय एउटी साथी सम्झन्छु जस्को मेहनतको कदर म गर्न सक्छु तर उनी कोरिया आउन पाईनन् ।  नाम निस्किएपछि गर्दै गरेको जागिर छोड्दिएँ । कलेजको किताबहरु थन्क्याएँ । कोरिया जाने हो भनेपछि सबै आफन्तले चासो लिन थाले, बधाई भन्न थाले । तर पर्खाई लामो भयो । कोरिया आउनको लागि भाषा पास गर्नु मात्रै सम्पुर्ण थिएन थुप्रै चरणहरु पार गर्नपथ्र्यो । त्यसैले मन शान्तले बसेको थिएन । तै पनि धैर्य गर्नु थियो गरिरहेँ ।
निकै लामो समयपछि कोरिया आउने टुङ्गो लाग्यो खुसि त भएँ तर नाचिहिँड्नलाई उमेरले दिएन केटाकेटी जसरी । सपिङ गर्न थालियो, कोरियामा हुने आफन्त, साथीहरुलाई जानकारी गराईयो, उत्सुकताहरु बाँडियो कति हाँस्नुभो होला त्यो मेरो खुसिको हर्कत देखेर कोरियामा हुनुहुने साथीहरु अहिले सम्झन्छु । भेट्नैपर्ने प्रियजनहरुलाई भेटियो । खानुपर्ने ढिडोरोटो खाईयो, गुन्द्रुक, मकैभटमास चबाईयो । अब त चौरासी ब्यञ्जनको देश मीठो शहर जो जाँदैछु भन्ने लाग्यो । सपना न थियो आखिर किन तित्तो हुन्थ्यो र? यसरी म कोरिया आएँ ।
बिहान ७ बजेबाट साँझ ७ बजेसम्मै बारीमै खोस्रेर बस्थ्यौँ । दाईहरु हुनुहुन्थ्यो कोरियामा तर खै कसरी र भेट्ने? नेट छैन, मोबाईल छैन मिति हेर्नलाई भित्तामा पात्रो छ सिर्फ । एउटा जङगली जन्तु भन्दा परको जीवन थिएन त्यो बेला , धन्न दुईजना थियौँ एक्लै भाको भए तेतिबेलै डिप्रेसनले गाँजिसक्ने थियो सायद । महिना बितेपछि जानी नजानी दाईको फोन नम्बर दिदै यस्मा फोन गर्दिनुहोस न भनेर साहु सँग बिन्ती बिसायौँ, नम्बर त हानेथ्यो तर लागेन, हुदैन भन्यो, किन भएन कारण थाहा थिएन । फेरि निरास बन्दै चुपचाप बस्यौँ । हाम्रो चिन्ता नेपालभरि यहाँ दाईहरुले पनि कसरी हुन्छ खोज्ने उपायहरु गर्दैहुनुहुन्थ्यो रैछ ।
महिनाको तलब आएपछि हामीले ल्यापटप किन्यौँ, नेट जोडिमाग्यौँ । नचलाउ महङगो छ साहुले ईन्कार गर्र्यो तर हामी रुञ्चे स्वरले बिन्ती गर्र्यौं र बल्ल बल्ल नेट जोडिदियो । आफन्तसँग कुरा भयो, स्काईपमा आमा बेस्सरी रुनुभयो म कठोर बन्ने कोसिस गरेँ तर पग्लिहालेँ यो दुःख पछिको खुसिको रोदन थियो । जीवनले अलि सहजता महसुस गर्यो । दिनभरी काम गरे पनि साँझ इन्टरनेट चलाउन पाएपछि दिनभरको दुःख भुलिँदोरैछ, आखिर दुखद दैनिकी त छँदैथियो ।
क्रम चल्दैथियो नेपालमा हुँदा सोचेको कोरिया र भोगिरहेको कोरियाको नमिल्दो तालमेलहरु स्टाटस लेख्थेँ । नेपालबाट साथीहरुको कमेन्ट तेस्तै आउँथ्यो जस्तो मै पनि सोच्थेँ नेपालमा बसेर । म्यासेजहरु उसैगरि आउँथ्यो, कोरिया पुगिस् मोज गर, पैसा कमा, जिन्दगी बना, आदी ईत्यादी । म आफ्नो दुस्खहरु भन्थेँ उनीहरु पत्याउदैनथे र फोटोहरु पठाईदिन्थेँ अनि जवाफ फर्काउँदैनथे । सायद छि १ भन्न नसकेर होला । खेतबारीमा काम गर्नेलाई खै कस्ले राम्रो ठान्यो र हाम्रो समाजमा ? तर त्यहिँ खेतबारीमा जीवनको सम्पुर्ण रुप देख्ने कोरियाली समाज आँखाभरि भोग्दैथिएँ म, यो मैले मात्रै महसुस गर्न सक्थेँ ।
करिब छ महिनापछि हिउँ झर्न थाल्यो । त्यहाँ काम नभएपछि हामी कम्पनी सरेर च्याउ बारीमा आयौँ । यो भित्रको काम थियो, राम्रो थियो । तर पाउने सुबिधाहरु शून्य थियो । समयमा तलब छैन, चाहेको बेला बिदा छैन । साहुको मुठ्ठिभित्रको निस्सार जीव बनेर बाँच्नुपरेको थियो । र पनि ईमान्दारीपुर्वक काम गर्दै धैर्यवान हुनुपर्ने यो कोरियाले दिएको अर्को पाठ हो ।
करिव ४५ महिना भयो मैले कोरियासँग साक्षात गरेको । यो समयहरु यति अबिस्मरणीय छ कि सम्झिने सामथ्र्य रहिन्जेल बिर्सन सकिन्न । तेसो त यहाँ काम, दाम मात्रै होईन हरेक प्रदेशी जीवनहरु प्रत्यक्ष पढ्न पाको छु । शुरुशुरुमा कामप्रति गुनासो दिक्क लागे पनि अहिले सकारात्मक बनेको छ सोँच । कि यहाँका आंशिक युवा र अधिकांश आमा बाबाहरुको पसिना माटोमा मोलिएको रातदिन जो देख्छु ।
म सँगै काम गर्ने थुप्रै साथीहरुले आफन्तहरुलाई ढाँटेको सुन्छु, कम्पनीमा काम गर्छु भन्नुहुन्छ, कमाई पनि धेरै बोल्नुहुन्छ म तित्तो तित्तो हुन्छु सुनेर । झुट बोलेर कुन सत्यको आशा राख्छन् कुन्नी मान्छेहरु ? जोहरुलाई पनि झुट मन पर्दैन । बाध्यता होलान् सायद, हुन पनि हो नेपालीको सोँच उक्सिनै बाँकी छ । कृषि भन्नुबितिकै निधार खुम्च्याउने बानीकै कारण झुट बोल्न बाध्य छन् आम मान्छेहरु । तर म निर्धक्क भनिदिन्छु आफ्नो सत्यता ।
सुरुमा सागबारीको फोटो फेसबुकमा पोस्ट्याईरहँदा सँगैको साथीले बेस्सरी गाली गर्यो, बेईज्जत हुन्छ पोस्ट नगर भन्यो मैले उसको अनुहार काटेर आफु सागसँगै हाँसेको फोटो राखिदिएँ । किसिम किसिमको कमेन्ट आयो सहजै स्विकारेँ मैले, किनकी हाम्रो समाज नै किसिम किसिमको फूलबारी हो । तेसो त कृषिमा काम गर्नेहरुको कमाई पनि एकदमै न्यून छ कम्पनीको तुलनामा । तर यो पिँडा नेपालमा परिवारलाई थाहा हुँदैन । कोरिया छिर्नेहरु सबैको उस्तै अनुमान लगाउँछन् ।
अस्ति भर्खरै घर गएर आएँ म । अगाडि आउने आफ्नै दाईहरुले घर ठडाईसक्नुभयो काठमाण्डुमा । र मेरो आफन्तहरुले पनि मसँग त्यो दाईको जत्रै घर भन्दा तलको आशा राख्नुभएको छैन । तर कहाँ दाई ३ लाख कमाउने कहाँको म १ लाख । यो नमिल्दो परिस्थितिमा सत्य बोल्यो झुट सावित हुन्छ, झुट बोल्यो सत्य सावित हुन्छ भोगेको कुरा ।
तेसो त म जस्ता हजारौँ साथीहरुको कोरिया भोगाईको बारेमा थुप्रै आर्टिकलहरु प्रकाशित छन् । पढेको छु, तथापी नभेटिएका अर्थात् लुकेका एकदुई कुराहरु थप्न चाहेको मात्रै हुँ । अथवा भनौँ भोगाई मेरो पृथक छ । नेपाल पुरुषप्रधान देश भएकोले नै होला महिलाहरु विदेशिनुलाई राम्रो ठानिँदैन । तर अरु देशहरुले उसरि सोच्दैनन् । महिला होस् अथवा पुरुष आफ्नो ईमान्दारिता र कर्तव्यनिष्ठ रहेका हरेक सचेत महिलाहरु सफल बन्न सक्छन् देश(विदेश त के पृथ्वीको कुनैपनि भूगोल यात्रा गर्न सक्छन् भन्ने प्रमाण आफै साँक्षी बसेर भन्न सक्छु म ।
कोरियामा  महिलाहरुलाई काम सम्बन्धि अप्ठ्यारो सामान्य छ तर त्यो बाहेकका अरु अप्ठ्यारो, असहजहरु खास छैन भन्दा फरक पर्दैन । महिलाले नेतृत्व लिएको यो देशमा महिलाका स(साना समस्याहरु प्रति कठिबद्द छ कानुन् । केही साथीहरु आफु असुरक्षित वा हिंसात्मक अनुभव  गर्नुहुन्छ भने आफ्नै देशका पुरुष मित्रहरुसँग हुनुहुन्छ, नत्र विदेशी पुरुषहरुले महिलामाथि हेयको दृष्टि राखेको कमै पाएको छु, जहाँ महिलाले स्विकार गर्दैनन् । यो भनिरहँदा पुरुषलाई मात्रै दोषि देखाउन खोजेको भने पक्कै होईन, पुरुष होस् या महिला आफ्नो स्थानमा बसेर म को हुँ? मेरो हैसियत के हो? म किन देशबाहिर छु ? र मैले के सम्म गर्नु हुन्छ या हुँदैन ? भन्ने कुराको हेक्का राखियो भने हामी जसरि घरबाट आयौँ त्यसैगरि सकुशल र सफलताका साथ घर फर्किनेमा दुईमत छैन ।
हुन त कोरिया सोचेजस्तो त पटक्कै छैन । जति घोटिएर, होसियारी पुर्वक काम गरेपनि एउटा न एउटा गल्ती देखाएर साहुको गाली खानैपर्छ । र मजदुरको नाताले शिर झुकाएर माफी माग्नुको  बिकल्प अरु हुँदैन । यस्को परिणाम हो नेपाली युवाहरुद्वारा आत्महत्या । शारीरिक, मानसिक रुपमा तनाव बढेपछि जत्ति नै आत्मबल बढाएपनि कमजोर मानसिकता जन्मिनु सामान्य हो ।
तेसो त प्रसंग साहुको मात्रै हैन हामी नेपाली नेपालीको सोंच र व्यबहारको कारण पनि देखिन्छ यदाकदा । जस्तो आफ्नै साथीलाई अप्ठ्यारोमा सहयोग गर्नुको सट्टा झन् गल्ती देखाउँदै साहुलाई पोल लगाउने र आफुमात्रै साहुको नजरमा प्रिय बन्न खोज्ने होडबाजी गर्नाले पनि आफु आफुमा निरासा र इष्र्याको भाव जागृत भएको कुरा पनि सत्य हो । हामी साँच्चै युवा हौँ र शिक्षित पनि छौँ र नै बिदेश आएका हौँ । त्यसैले आफ्नो स्थानमा रहेर दुखमा परेका साथीहरुलाई सकेको सहयोग गर्न सक्यौँ भने त डिप्रेसन र आत्महत्या जस्ता डरलाग्दा चिजहरु टाढै भाग्ने थियो पक्कै ।
अन्ततः नयाँ साथीहरु कोरिया आउँदैहुनुन्छ त्यसैले आफुसँगै तपाईले बोकेर आउनु जरुर पर्छ सकारात्मक मनस्थिति, सहयोगी भावना, आत्मबल, धैर्यवान र ईमान्दारिता । माथि उल्लेखित मेरो भोगाई अथवा हजारौँ म जस्ताहरुको साक्षात कोरिया भोगाई समग्रमा यस्तै यस्तै हुन् ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]