वेलका हरियाली गोल्डकपको उपाधि गाईघाटलाई

गाईघाट , फागुन २७
उदयपुरको बेलका नगरपालिका २ भागलपुरमा जारी ‘प्रथम वेलका हरियाली गोल्डकप’ उपाधि गाईघाटले चुमेको छ । फाईनल खेलको ट्राईव्रेकरमा बिन्ध्यावासिनी फुटवल क्लव बिराटनगरलाई १३–१२ लेपछि पार्दै गाईघाटले उपाधि चुमेको हो ।
निर्धारित ९० मिनेटको फाईनल खेलमा दुबै पंक्षबाट २–२ गोल बाँडेपछि खेल ट्राईव्रेकरमा गएको थियो । ट्राईव्रेकरमा १३ जनाले सुट प्रहार गरेका थिए । दुबैतर्फबाट ५÷५ जनाले प्रहार गरेको सुटआउट बराबरी भएपछि मुख्य रेफ्री नरेन्द्रकुमार जगेवुले अर्को ५÷५ जनालाई मैदानमा उतारेका थिए ।
दुबै पटकको प्रहार बराबर भएपछि पुन ३÷३ जनाले प्रहार गरेको सुटआउटमा गाईघाटले ३ र बिराटनगरले २ गोल गरेको थियो । फाईनल खेलमा गाईघाटका सुनिल खड्का र विदेशी खेलाडी प्याट्रिकले अर्को गोल थपेका थिए ।
प्रतिउत्तरमा बिराटनगरका संजय धिमाले गोल गरे । गाईघाटले अन्तिम सेमिफाइनलमा सशस्त्र प्रहरी वल एपिएफ पूर्वाञ्चललाई पराजित गर्दै फाईनलमा प्रवेश गरेका थियो । फाइनल खेलको म्यान अफ द म्याच गाईघाटका गोलरक्षक किशोर गिरीभए ।
बेलका नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा फागुन १९ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ वटा समुहले सहभागिता जनाएका थिए । विजेता टिम र खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिना र बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले पुरस्कार तथा सम्मान गरे ।
विजेता टिमले नगद २ लाख, ट्रफी पाए भने उपविजेताले नगद १ लाखसँगै मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक गाईघाटका गिरी घोषित भए भने उत्कृष्ट डिफेन्टर बिराटनगरका भुषण सुब्बा भए । सर्वाधिक खेल अंक पाउनेमा जागृति क्लव इटहरीका तिर्थ बस्नेत र उत्कृष्ट खेलाडीको उपाधि गाईघाटका सुनिल खड्काले चुमे । उनीहरु सबैलाई नगद ५ हजारका दरले प्रदान गरियो ।