भारतले ५० अर्ब खर्चेर अत्याधुनिक तोप किन्ने, चीनलाई चुनौति दिने चर्चा

२ मंसिर, काठमाडौं: भारतीय सैनिकले अमेरिकासँग ५० अर्ब भारुमा अत्याधुनिक हावित्जर तोप किन्ने तयारी गरेको छ । यसबाट छिमेकी मुलुक चीनलाई चुनौति थपिने भारतीय सञ्चार माध्यमहरुले व्याख्या गरेका छन् ।

भारतीय टेलिभिजन च्यानल आजतक लेख्छ- भारतीय सेनासँग अब हावित्जर तोप हुनेछन् । करिब ५ हजार करोड रुपैयाँमा एम-७७७ हावित्जर तोप खरिद गरिने छ । यी तोप चीनसँग सीमा जोडिएका अरुणाञ्चल प्रदेश र लद्दाखमा तैनाथ भारतीय सेनालाई दिइने छ ।

समाचारअनुसार सुरक्षा समितिको बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले ति तोप खरिद गर्नका लागि ग्रिन सिग्नल दिइसकेका छन् ।

भारत र अमेरिकाबीच भएको सम्झौताअनुसार २५ वटा हावित्जर तोप आयात गरिने छ । त्यसबाहेक १२० वटा हावित्जर तोपका पाटपुर्जा किनेर भारतमा जडान गरिने छ । आगामी ६ महिनाभित्रै भारतमा अमेरिकाबाट तोप आउन सुरु हुनेछ । त्यसको १० महिनापछि हरेक महिना दुईवटा तोप मगाइने छ । हावित्जर तोपको पहिलो खेप भारतीय सेनाको १७ औं माउन्टेन स्ट्राइक कोरलाई दिइने छ । सेनाको यो टुकडीले अरुणाञ्चल प्रदेश र लद्दाखको भारत-चीन सीमा क्षेत्रमा निगरानी गर्दछ ।

हावित्जर तोप के हो ?
अप्टिकल फायर कन्ट्रोल भएको हावित्जर तोपले करिब ४० किलोमिटर टाढासम्म सटीक निशाना लगाउन सक्छ । डिजिटल फायर कन्ट्रोलयुक्त यो तोपले एक मिनेटमा ५ राउन्ड फायर गर्नसक्छ ।

१५५ एमएम/३९ क्यालिबरको यो तोप बनाउन टाइटेनियमको पनि प्रयोग गरिन्छ । आवश्यकता अनुसार यी तोपहरुलाई अग्लो स्थानमा लैजान पनि सकिन्छ किनकी यी तोप अरु तोपहरुभन्दा निकै हलुका हुन्छन् । हवित्जर १५५ एमएमको यो एकमात्र यस्तो तोप हो जसको वजन ४ हजार २ सय किलोभन्दा कम हुन्छ ।

हावित्जर तोपले २५ किलोमिटर प्रतिघण्टासम्म मुभ गर्नसक्छ । यसले ५२ क्यालिबर राउन्ड्स लिन्छ जबकी बोफोर्स तोपको क्षमता ३९ क्यालिबरको हुन्छ ।

अमेरिकी सेनामा प्रयोग
एम ७७७ हावित्जर तोप सन् २००५ देखि नै अमेरिकी सेनाले प्रयोग गर्दै आएको छ । यो निकै प्रभावकारी मानिएको छ । यी तोपले अमेरिकी सेनाले पहिले प्रयोग गर्ने एम १९८ तोपलाई विस्थापित गरेको थियो । अमेरिकी सेनाले हावित्जर तोपलाई पहिलोपटक अफगानिस्तान युद्धमा प्रयोग गरेको थियो । क्यानडा, कोलम्बिया, साउदी अरब र अष्ट्रेलियाका सेनाले पनि एम ७७७ तोपको प्रयोग गर्दै आएका छन् ।

यसरी भयो भारतसँग डील
अमेरिकाको पेन्टागनमा सन् २०१० मा १४५ हावित्जर तोप बेच्ने योजना बनेको थियो । त्यसबेला यसको मूल्य ६४७ मिलियन डलर थियो । सम्झौताको रकमलाई लिएर भारत र अमेरिकाबीच मोलतोल भइरहेको थियो । यसको ढिलाइ हुनुमा भारतमा केन्द्र सरकार परिवर्तनको कारण पनि एक रह्यो । आखिरमा नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले अमेरिकासँग ७३७ मिलियन डलरमा हतियार किन्ने पक्का गरे ।

एम-७७७ हावित्जर तोप बनाउने कम्पनिको नाम बीएई सिस्टम्स हो जससँग स्वीडेनको बोफोर्स कम्पनिको स्वामित्व छ ।

बोफोर्स र विवाद
३० वर्ष अघि १९८६ मा बोफोर्स तोपका लागि भारतले स्वीडेनको हतियार बनाउने कम्पनि बोफोर्ससँग सम्झौता गरेको थियो । त्यसको एक वर्षपछि अर्थात् सन् १९८७ मा बोफोर्सले भारतसँग हतियार किन्न ८० लाख डलर कमिसनको खेल भएको कुरा सार्बजनिक भयो । त्यसबेला भारतमा राजीव गान्धी नेतृत्वको सरकार थियो । सरकारलाई के आरोप लाग्यो भने गान्धी परिवारसँग निकट रहेका ओट्टावियो क्वात्रोच्चीले हतियार किन्न बिचौलियाको भूमिका खेलेका छन् । बोफोर्ससँग भएको हतियार किन्ने सम्झौता र त्यसमा ८० लाख डलर कमिसनको खेलले भारतीय राजनीतिमा तरंग पैदा भयो ।

यसैका कारण सन् १९८९ मा राजीव गान्धी नेतृत्वको कांग्रेस सरकार ढल्यो । त्यसपछि विश्वनाथ प्रताप सिंह एकाएक हिरो बने र भारतको प्रधानमन्त्री बनेका थिए । तर, बिडम्बना विश्वनाथ प्रताप नेतृत्वको सरकारले पनि बोफोर्सको दलालीको सत्यतथ्य सार्बजनिक गर्न भने सकेन ।

त्यसपछि पनि पटक-पटक बोफोर्सको विवादले भारतीय राजनीतिलाई तरंगित पार्दै लग्यो । तर, सन् १९९९ मा कारगिल युद्धमा बोफोर्स तोपको सहयोगमा भारतीय सेनाले शानदार प्रदर्शन गरेपछि भने यो विवाद साम्य भयो ।