डलरको भाउ १ सय १० नाघ्यो


मंसिर , १०   शुक्रबार एक अमेरिकी डलरका लागि नेपाली १ सय १० रुपैयाँ २८ पैसा खर्चिनु पर्ने भएको छ । यो राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको अमेरिकी डलरसँगको विनिमय दर हो । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प निजी क्षेत्र मैत्री हुने देखिएपछि त्यहाको अर्थतन्त्रमा सुधार देखिन थालेको छ ।ट्रम्पको नेतृत्वमा मुलुकको आर्थिक अवस्थामा झनै सुधार आउने अपेक्षा गरिएको छ । यस्तै, त्यहाँको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउने घोषणा गरेको, घरेलु लगानीलाई प्रोत्साहन हुने खालका नीति आउने लगायत समाचारहरु सार्वजनिक भएका छन् । उक्त कारण पछिल्लो समयमा विश्व बजारमा अमेरिकी डलर बलियो बन्दै गएको हो ।  यससँगै अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्नुमा भारतीय मुद्राको अवमूल्यन प्रमुख कारण हो । भारतिय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमय दर छ ।भारु कमजोर हुने वित्तिकै स्वतस् नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । भारत सरकारले पाँच सय र हजार दरका नोट चलनचल्तिमा प्रतिबन्ध लगाएपछि पनि भारतीय मुद्रामा असर परेको हो । भारतमा चलनचल्तीमा रहेको कुल मुद्रामध्ये करिब ६५ प्रतिशत पाँच सय र हजार दरका नोटको हिस्सा रहेको छ ।